दुर्घटना कम गर्न झापामा ‘टाइम कार्ड’

झापा । दुर्घटना कम गर्नका लागि सार्वजनिक यातायातका सवारी साधनलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न यातायात व्यवासायीहरू सहमत भएका छन् । बस र अन्य सार्वजनिक यातायातका साधनको ठक्करले मानिसको मृत्यु हुने घटना बढिरहेकाले टाइम कार्ड लागू गर्न लागिएको हो ।

पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनका लागि टाइम कार्ड लागू गरिने भएको हो । निश्चित समयमा सवारी साधन छुट्ने स्थानबाट गाडी सञ्चालन हुने अनि तोकिएको समयमा गन्तव्य पुग्ने गरी टाइम कार्ड लागू हुनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा आयोजित छलफलमा टाइम कार्ड लागू गर्ने विषयमा सबै सरोकारवाला एकमत भएका हुन् । यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले टाइम कार्ड लागू भए दुर्घटना न्यूनीकरण हुनेमा विश्वस्त रहेको बताए । २०७६ सालमा लागू भएको टाइम कार्ड केही महिनापछि हटेको स्मरण गर्दै उनले त्यो बेला दुर्घटनाको संख्या निकै कम भएको सुनाए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले झापा, मोरङ र सुनसरी जिल्लामा एकैसाथ लागू गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरे । त्यसका लागि मोरङ र सुनसरी जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूसँग समन्वय गर्न झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडेललाई उनले निर्देशन दिए । पौडेलले मंसिर महिनाबाटै टाइम कार्ड लागू गर्न सकिने बताए ।

यसैगरी, इ-रिक्सा तथा अटोरिक्साको आवागमनलाई व्यवस्थित गर्न स्थानीय तह अग्रसर हुनुपर्नेमा छलफलका सहभागीले जोड दिए । छलफलमा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, यातायात व्यवस्था कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटा, झापाका सशस्त्र प्रहरी प्रमुख कबिन्द्र राई, व्यवसायीलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *