एयर इन्डियाको विमानमा विष्फोटक पदार्थ भेटिएन, दिल्ली उड्दै
काठमाडौँ । बम राखिएको भन्दै हल्ला चलाइएको एयर इन्डियाको जहाजमा कुनै विष्फोटक तथा खतराजन्य पदार्थ नभेटिएको विमानस्थल प्रहरीले जनाएको छ ।
यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले जानकारी दिए ।
बम राखिएको अज्ञात समूहले हल्ला चलाएको र त्यसैअनुसारको सूचना आएपछि बिमानमा जाँच गरिएको थियो । त्यस क्रममा नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक बस्तु डिस्पोजल टोलीले सुक्ष्म जाँच गरेको प्रहरीले जनाएको छ ।
भारतमा रहेको एयर इन्डियाको मुख्यालयमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाइएको बमको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीले दिउँसो साढे ३ बजेदेखि जाँच थालेका थिए ।
जाँच गर्नुअघि ओरालिएका यात्रुलाई सोही बिमानमा राखेर दिल्ली पठाउन लागिएको जनाइएको छ । उक्त विमानबाट ५५ नेपालीसहित १ सय ५८ जना यात्रु दिल्ली जाँदैछन् ।
