बंगाल चक्रवातको असर पूर्वी नेपालमा
काठमाडौँ । बंगालको खाडीमा विकसित भएको ‘दाना’ चक्रवातको असर नेपालमा पनि परेको छ । चक्रवातको असरका कारण कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ । पूर्वका इलाम, झापालगायत जिल्लाका केही स्थानमा हल्का वर्षा भएको हो । कोशी, मधेस, बागमती प्रदेशमा बादल लागेर धुम्मिएको छ ।
उक्त चक्रपातका कारण भारतको ओडिसा, पश्चिम बंगालमा बढी असर परेको छ । पूर्वी नेपालमा पनि यसको सामान्य असर देखिएको मौसमविदले जनाएका छन् । नेपालमा यसको असर लामो समय भने नरहने उनीहरुको भनाइ छ । आजैदेखि चक्रपातको असर कमजोर हुँदै जाने जल तथा मौसम विभागले जनाएको छ ।
बंगालको खाडी आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली बनेपछि चक्रवातका रुपमा बिस्तारै जमिनतर्फ प्रवेश गरेको जनाइएको छ । समुन्द्रबाट बिस्तारै जमिनतर्फ प्रवेश गरेको चक्रवातको असर बिस्तारै कम हुँदै जाने विभागको भनाइ छ ।
जल तथा मौसम विभागका अनुसार भोलि शनिवार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने कतै सफा रहने छ । पहाडी भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
आइतबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि कतै मौसम सफा रहने छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
