काठमाडौँसहित अधिकांश स्थानमा चिसो बढ्दै

काठमाडौँ । मौसम फेरबदलसँगै तापक्रम घट्न थालेपछि काठमाडौँ उपत्यका र देशका अधिकांश स्थानमा चिसो बढ्न थालेको छ । यो वर्षको मनसुन बाहिरिएको छ तर ‘पोस्ट मनसुन’ गतिविधिका कारण केही स्थानमा पानी पर्ने क्रम देखिएको छ ।

पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।

गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको महाशाखाले जनाएको छ । धेरै स्थानमा मौसम सफा भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी छ ।

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सियस पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ ।

काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको बताए ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *