यात्रा सहज भएपछि पाथीभरामा तीर्थयात्री बढ्दै

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीहरु आउने क्रम बढेको छ । बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि दसैँको बेलामा यात्रु आउने क्रम प्रभावित भएको थियो । सडक मर्मत गरेपछि तीर्थयात्रीको संख्या बढेको हो ।

पाथीभरासम्म पुग्ने सडक मर्मत गर अस्थायी रुपमा सञ्चालनमा ल्याएको छ । सडक यात्रा केही सहज भएपछि श्रद्धालु भक्तजनहरु आउने क्रम बढेको स्थानीय दुर्गा खतिवडाले बताइन् ।

सोमबार एकै दिन करिब ५ सय तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजाअर्चना गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । यात्री आउने क्रम बढेसँगै माथिल्लो फेदी क्षेत्रमा रहेका होटल पनि व्यस्त हुन थालेका छन् ।

लगातारको वर्षाका कारण मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्डमा क्षति पुगेकाले आवागमन प्रभावित भएको थियो ।

अत्यधिक वर्षापछि असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो । यस्तै, तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन प्रभावित भएको थियो ।

यसैगरी, इलामको राजदुवाली–गोलाखर्क खण्डमा पहिरोले सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *