बीपी राजमार्गमा आजदेखि सवारी साधन चल्ने

काठमाडौँ । बाढी पहिरोले ठाउँ ठाउँमा क्षतिग्रस्त बनेको बीपी राजमार्गमा शुक्रबार देखि सवारीसाधन सञ्चालन हुने भएको छ । निर्माण र मर्मत कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भौतिक पूर्वाधार मन्त्रालयले आज बिहान १० बजेदेखि सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ ।

यातायात सञ्चालनमा आएपछि दसैँमा आउजाउ गर्ने यात्रुलाई सजिलो हुने भएको छ । यसैगरी, अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम हुने मन्त्रालयको भनाई छ ।

मर्मतका क्रममा विभिन्न ठाउँमा कल्भर्ट बनाइएको छ । यस्तै, ठाउँठाउँमा खोला आसपास ‘डाइभर्सन’ गरेर सवारी साधन चल्ने गरी सडक मर्मत गरिएको जनाइएको छ । रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो ।

बीपी राजमार्गको नेपालथोक–खुर्काेट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । रोशी खोला र सुनकोसी नदीमा आएको बाढी पहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केही बेरअघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका-९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार भोलि (बिहीबार बिहान १० बजे) सम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *