दसैँमा वर्षा हुने सम्भावना
काठमाडौँ । दसैँको मुख्य दिन र अघिपछिका दिन पानी पर्ने सम्भावना औँल्याइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि कतिपय क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही साता देशभरबाट बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ । मनसुन बाहिरिने क्रममा हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
यो वर्षको मनसुन पूर्ण रुपमा बाहिरिने समय र दसैँ पर्व एकैपटक परेकाले वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ । विगतमा मनसुन बाहिरिएपछि पनि हल्कादेखि मध्यम वर्षा भएको रेकर्ड छ ।
मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने विभागले उल्लेख गरेको छ ।
प्रतिक्रिया
