कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु  

विराटनगर । मोरङको बेलबारीमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना भएको हो ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा परेर प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार आपसमा ठोक्किएका थिए । दुवै सवारी साधन क्षतिग्रस्त बनेका छन् ।

प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *