सुकुना क्याम्पसको बजेट २१ करोड ९८ लाख

विराटचोक (मोरङ)सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पस परिषदको अठारौँ बैठक सम्पन्न भएको छ । परिषद् बैठकमा सञ्चालक समितिको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले शैक्षिक, व्यवस्थापकीय, सञ्चालित शैक्षिक कार्यक्रमहरू, शैक्षिक विधि, सिकाइ उपलब्धि, भौतिक, आर्थिक पक्ष सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । यस्तै, उनले २०८१/०८२ को नीति तथा कार्यक्रम र करिब २१ करोड ९८ लाख १२ हजार रुपैयाँको अनुमानित आयव्यय बजेट प्रस्तुत गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा भएको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

बैठकमा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा, कोशी प्रदेश सभाका सदस्य ज्ञानेन्द्र सुवेदी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाइँ र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईँको पनि सहभागिता थियो ।

यसैगरी, सुन्दरहरैँचा नगरपालिका उपप्रमुख अकली चौधरी, कोशी प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझा र नगरपालिकाका प्रवक्ता रोशन ढकाल, परिषद्का सदस्यहरू, शिक्षक, कर्मचारी र विद्यार्थी प्रतिनिधिहरूको सहभागिता थियो ।

त्यस  अवसरमा क्याम्पस स्थापना, विकास, विस्तार र ख्यातिका लागि महत्वपूर्ण सहयोग गर्ने संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ, क्याम्पसमा तीन पटकसम्म अध्यक्ष भएका चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवं पूर्वउपाध्यक्ष उदयनारायण काफ्ले र चन्दादाता एवं समितिका पूर्वसदस्य मानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले सुकुना क्याम्पको विकास र ख्यातिका लागि सहयोग गर्न आफू इच्छुक रहेको बताए । सांसद शर्माले क्याम्पसले प्राविधिक तथा व्यावसायिक धारका विषयहरू सञ्चालन गर्नु पर्ने र यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेश सभा सदस्य सुवेदीले क्याम्पसले प्राप्त गरेको शैक्षिक, भौतिक र व्यवस्थापकीय उपलब्धि प्रशंसा गर्न योग्य र अनुकरणीय रहेको बताए ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाइँले दोस्रो चरणको गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त भएपछि क्याम्पसले थप उचाइ प्राप्त गर्ने उल्लेख गरे । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईँले त्रिविले परीक्षा क्यालेण्डर लागू गरिसकेको अवस्थामा क्याम्पसमा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरू अझ प्रभावकारी हुने बताए ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूले त्रिविका विकृति र विसङ्गति औँल्याउँदै सुकुना क्यम्पसमा यस्ता विकृति नरहेको दाबी गरे । कार्यक्रमका सहभागीलाई सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गरेका थिए ।

समितिका अध्यक्ष अधिकारीले सञ्चालन गरेको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरु, नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *