‘दसैँ विदामा विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाऔँ’

काठमाडौँ । विश्व शिक्षक दिवसको अवसर पारेर परोपकारी संस्था हेड्स नेपालले काठमाडौँको बनस्थलीमा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा दसैँ लगायत चाडपर्वहरुको समयमा शैक्षिक संस्था लामो समय बन्द भएकोले बालबालिका तथा युवाहरुको निरन्तर सिकाईलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो । यसबारे अभिभावकलाई प्रशिक्षित गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव दिव्यराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा अभिभावकहरु, हेड्स नेपालका सदस्यहरु र समाजका अगुवाहरुको सहभागिता थियो । स्रोत व्यक्ति शिक्षाविद् शरण अर्यालले बालबालिका र युवा विद्यार्थीहरुलाई अभिभावकले गर्ने प्रश्न नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘विद्यार्थीलाई के बन्ने नसोध्नुहोस् बरु कस्तो मान्छे बन्ने भनेर अन्तरक्रिया गर्नुहोस्, चाडबाडमा आफन्तहरु भेट हुँदा गर्नुपर्ने व्यवहार सिकाउनुहोस्, दसैँ तिहारका परिकार बनाउन सिकाउनुहोस् र स्वस्थ्य व्यवहार अपनाउन उत्प्रेरित गर्नुहोस् ।’

स्वास्थ्य, शिक्षा, कृषि र विपद् जस्ता क्षेत्रमा परोपकारितामा सक्रिय हेड्स नेपालले चाडपर्वको सिलसिला सुरु भएको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

समाजसेवा र परोपकारितामा जुनसुकै बेला सक्रिय भई सहयोग गर्न, हुनेले नहुनेलाई चाडपर्वको समयमा पनि सहयोग गर्न, संस्थाका सदस्यहरु र समुदायका अगुवालाई बाढी पहिरो लगायत मनसुनी विपद्को समयमा पनि प्रेरित गर्न शुभकामना कार्यक्रम लक्षित रहेको संस्थाका अध्यक्ष दिलीप देवकोटाले बताए ।

सामूहिक सङ्कल्प र स्थानीय स्रोत व्यवस्थापनले नै हेड्स नेपालको परोपकारिताको अभिलाषालाई परिपूर्ति गरिरहेको बताउँदै महासचिव दिव्यराज पौडेलले समुदाय र सरकारबाट थप सहयोगको अपेक्षा राखे । शिक्षा समितिका संयोजक रामकृष्ण शर्माले दुवै कार्यक्रमको समीक्षा गरेका थिए ।

कार्यक्रम हेड्स नेपालका अध्यक्ष दिलीप देवकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *