सिन्धुलीको नेपालथोकबाट आँपघारीसम्म सडक खुलाइयो

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–१ को नेपालथोकबाट आँपघारीसम्मको सडकदेखि खुलेको छ । अवरुद्ध भएको चार दिनपछि उक्त खण्ड बिहीबारबाट खुलेको हो ।

रोशीखोलाको बाढीले नेपालथोक र आँपघारीबीचको बान्द्रे ओडारमा करिब दुईसय मिटर सडक बगाएको थियो । सडक डिभिजन कार्यालयले ठूला उपकरण र प्राविधिक परिचालन गरी रोशी खोला तर्काएपछि किनारबाट अस्थायी सडक बनाएर आवागमन खुलाएको हो ।

सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालका अनुसार आँपघारी अगाडि बालुवामा रोशीखोलाले बगाएको करिब डेढ सय मिटर सडक पनि खोला तर्काएर बनाउन सुरू भएको छ । काभ्रेको चौकीडाँडामा पनि अस्थायी सडक बनाउन सकिए भने पाँच दिनमा त्यस खण्डमा सवारीसाधन सञ्चालनमा आउन सक्ने जनाइएको छ ।

नेपालथोक धुलिखेल खण्डको ५० किलोमिटरमध्ये नेपालथोकबाट बालुवासम्मको दुई किलोमिटर र धुलिखेलबाट चौकीडाँडासम्मको ३५ किलोमिटर गरी ३७ किलोमिटरमा यातायात एकतर्फी मात्रै सञ्चालनमा छ । बाँकी १३ किलोमिटरमा कतै सडकै बगेको छ भने कतै पहिरो झरेर अवरुद्ध बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *