दुहबी र रामधुनी नगरमा युवालाई औद्योगिक प्रशिक्षार्थी तालिम

सुनसरी । स्विजरल्यान्ड सरकारको सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित ‘इन्स्योर’ दोस्रो परियोजना अन्तर्गत प्रि–डिप्लोमा तहको २४ महिने निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालन गरिएको छ । सुनसरीका दुहबी र रामधुनी नगरपालिकाले नगरका युवालाई उक्त कार्यक्रममा जोड्नका लागि कार्यक्रमको सूचना तथा सम्बन्धित विषयको वृत्तिपथबारे परामर्श गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हुन् ।

कोशी प्रदेश सरकार समाजिक विकाश मन्त्रालयद्वारा सञ्चालित औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कोशी प्रदेशका विभिन्न ११ वटा प्राविधिक शिक्षालयमा ४ सय युवाहरुलाई ८ वटा विषयमा निःशुल्क प्रि–डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालिम दिन लागिएको हो । तालिमका लागि आवेदन संकलन भइरहेको जनाइएको छ । नेपाल सरकारले स्विजरल्यान्ड सरकारसित उक्त परियोजना सञ्चालनका लागि सम्झौता गरेको छ । उक्त परियोजना अन्तर्गत मुख्य ४ वटा कार्यक्रम छन् ।

त्यसअनुसार औद्योगिक प्रशिक्षार्थी, कार्यस्थलमा आधारित तालिम, वृत्ति परामर्श कार्यक्रम, कार्यरत युवाहरुको सीप स्तरोन्नति तालिम छन् । यी कार्यक्रमहरु सञ्चालन गर्नका लागि परियोजना सहायता एकाइले तिनै तहका सरकारलाई प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।

उद्योग संगठन मोरङले प्रशिक्षार्थी युवायुवतीलाई साढे १९ महिनाको प्रयोगात्मक अभ्यासका र रोजगारीका लागि सहजीकरण गरिरहेको छ । कार्यस्थलमा आधारित तालिम र दोहोरो सिकाई प्रणालीमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नका लागि उद्योग संगठनले परियोजनाको सहकार्यमा ‘सीप विकास इकाइ स्थापना गरेको छ ।

दुहबी नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले दुहबीले २०७५ सालदेखि नै प्राविधिक शिक्षाका लागि काम गरिरहेको बताए । त्यसअनुसार वृत्ति तथा रोजगार मेला सञ्चालन गर्ने देखि लिएर औद्योगिक प्रशिक्षार्थी कार्यक्रमका लागि प्रत्येक वर्ष छात्रावृत्ति समेत प्रदान गरिरहेको उनले जानकारी दिए ।

गच्छदारका अनुसार दुहबी नगरपालिकाले प्राविधिक शिक्षाका लागि वार्षिक १० लाख रुपैयाँ छुट्टाएकोमा सुरुमा प्राविधिक शिक्षामा छात्रावृत्तिमा अध्ययन गर्न पनि प्रशिक्षार्थीको अभाव हुन्थ्यो । केही वर्षयता भने नगरपालिकाले थाम्नै नसक्ने गरी प्रशिक्षार्थी आउन थालेका छन् ।

गच्छदारले वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै शान्ति र आनन्द हुने बताए ।

त्यसैगरी रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चाागर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामथ्र्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए ।

अधिकृत चौधरीले शैक्षिक अध्ययनले मानिसमा चरित्र र संस्कारको निर्माण गर्ने अनि प्रविधि र सिपको सिकाइले रोजगार बनाउन सहयोग गर्ने हुँदा जीवनमा यस्तो प्रशिक्षण अनिवार्य भएको धारणा राखे ।

दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उद्यम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा सञ्चालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका मानव स्रोत प्रबन्धक नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धिसिद्धि गार्मेन्टकी सञ्चालक लक्ष्मी घिमिरे लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत हरिप्रसाद दाहाल, उद्योग संगठन मोरंगका महानिर्देशक चुडामणि भट्टराई, मनमोहन स्मृति प्रतिष्ठानका प्राचार्य सुदिप अधिकारी, परियोजनाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

मनमोहन स्मृति प्रतिष्ठानका प्राचार्य अधिकारीका अनुसार यस कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीले ३.५ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्नुपर्दछ । बाँकी १९.५ महिना पेशासँग सम्बन्धित उद्योग–व्यवसायमा प्रयोगात्मक अभ्यासबाट सीप आर्जन गर्नुपर्छ ।

१९.५ महिनाको अवधिमा हप्ताको एक दिन शिक्षालयमा आएर थप सीप सिक्नुपर्ने उल्लेख गर्दै उनले अन्तिमको एक महिना पुनः शिक्षालयमा नै फर्किएर सिक्न बाँकी ज्ञान र सीप सिकेर परीक्षाको तयारी गर्नुपर्छ ।

अधिकारीका अनुसार छनौट भएका प्रशिक्षार्थीले परियोजना अन्तर्गत सम्बन्धित शिक्षालयबाट उपस्थित भएको दिनको यातायात खर्चबापत प्रति प्रशिक्षार्थी प्रति दिन १०० रुपैयाँ पाउने जानकारी गराए । परियोजनाले प्रशिक्षार्थीले वर्षमा एकपटक पोसाकको खर्च पनि पाउने उनको भनाइ छ ।

परियोजनामा कार्यरत रेखा उप्रेतीका अनुसार उद्योग–व्यवसायमा औद्योगिक अभ्यासका क्रमका १९.५ महिनामा प्रशिक्षार्थीले प्रोत्साहन रकमस्वरूप नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको कम्तीमा २५५ पाउने जानकारी दिइन् ।

उप्रेतीले प्रदेश सरकारले सञ्चालन गरेको यस कार्यक्रममा स्थनीय सरकारले गरेको सहकार्य उत्साहजनक रहेको र यसले अन्तरसरकारी समन्वय बढिरहेको साथै प्रदेश सरकार र स्थानीय सरकारको प्राविधिक शिक्षामा उल्लेखनीय चासो वृद्धि भएको जनाइन् ।

औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा निजी क्षेत्रको महत्वपुर्ण भूमिका हुने भएकोले निजी क्षेत्र आफैँ कार्यक्रमको सूचना प्रचार प्रसार र वृत्ति परामर्शदेखि नै जोडिनु नौलो र सिर्जनात्मक अभ्यास रहेको उनको भनाइ छ ।

इन्स्योर परियोजनाका प्रह्लाद सिंह चौधरीले प्रशिक्षणमा सहभागी हुन १६ वर्ष पूरा भएको हुनुपर्ने र एसएलसी वा एसईईमा सहभागी भएको हुनुपर्ने बताए । चौधरीले भने, ‘यो प्रशिक्षण शिक्षालय र उद्योग–व्यवसाय दुबै स्थानमा सम्पन्न हुन्छ । त्यसैले यसलाई दोहोरो सिकाइ प्रणाली पनि भनिन्छ ।’ उनले उत्तीर्ण भएका प्रशिक्षार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रि–डिप्लोमा तहको प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *