दसैँ सुरु, आज घटस्थापना गरी जमरा राखिँदै
विराटनगर । हिन्दुहरुको महान चाड दसैँ आज बिहीबारबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँको पहिलो दिन ‘शैलपुत्री’ दुर्गा भवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यसपटक घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैँघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।
घटस्थापनाका दिन दुर्गा पूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ । यो वर्ष असोज २६ गते शनिबार विजयादशी (टीका) परेको छ । टीका ग्रहणको शुभ साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
प्रतिक्रिया
