पहिरोमा पुरिएका गाडीबाट ३० जनाको शव निकालियो
काठमाडौँ । धादिङको झ्याप्लेखोलामा तीनवटा गाडी पुरिँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका अनुसार पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका छन् ।
चितवनबाट काठमाडौँका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । माइक्रो बसबाट १३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको उनले बताए ।
पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । सोही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस पनि पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।
यस्तै, बुटवलबाट काठमाडौँ आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रो बसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।
