साढे तीन दशकपछि घर फर्किएका प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्रीको सहयोग
भोजपुर । सम्पर्कविहीन भएको ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङ आफ्नै पुर्ख्यौली थलो भोजपुरमा कृषि पेशामा संलग्न हुने भएका छन् ।
तीन साताअघि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईसँगको तामाङले भेटघाट गर्ने क्रममा भोजपुरमा रहेका बुबाआमासँगै बस्ने बताएका थिए । भोजपुरको षडानन्द नगरपालिका–१० थाप्लेगाउँमा तामाङको परिवार छ । उनका बुबाआमा अर्काकै जमिन जोतभोग गर्दै आएका छन् ।
भेटका क्रममा उनले जमिन चाहिएको बताएका थिए । त्यस दिन पूर्वमुख्यमन्त्री राईले तामाङलाई एक लाख रुपैयाँ सहयोग गर्दै थप सहयोग गर्ने बताएका थिए । शुक्रबार पूर्वमुख्यमन्त्री राईले गरेको प्रतिवद्धता अनुसार तामाङले ५ रोपनी ३ आना जमिन पाएका छन् । राईकी पत्नी जाम्मु इन शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरबाट उक्त जमिन लिखत पास गरिएको छ । शेर्पाको नाममा रहेको जमिन पास गरेपछि तामाङको घरमा भेला भएर लालपूर्जा हस्तान्तरण गरिएको थियो ।
तामाङलाई लालपूर्जा सहित एक थान हाते ट्याक्टर र एक हल गोरु पनि दिइएको थियो । त्यस अवसरमा बोल्दै राईले आफूले सकेको सहयोग गरेको बताए । राई पत्नी शेर्पाले आफू सामाजिक कार्यमा सक्रिय रहेको जनाउँदै उपलब्ध गरेका सामग्री सदुपयोग भए प्रकाश र उनको परिवारको आर्थिक अवस्थामा सुधार हुने सक्ने बताइन् ।
तामाङले अब खेतीपाती गर्ने र वृद्ध बुवाआमाको हेरचाह गर्ने बताए । त्यस अवसरमा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, समाजसेवी भूपाल राई लगायतले यस खालको सामाजिक कार्यले समाजमा सकारात्मक परिवर्तन हुने धारणा राखेका थिए ।
