कोशीमा बाढीपहिरोले ११ को मृत्यु, ९ जना बेपत्ता

विराटनगर । बाढी र पहिरोमा परी कोशी प्रदेशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार ९ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार पाँचथरमा ५ जनाको मृत्यु भएको छ । धनकुटा र सोलुखुम्बुमा २–२ तथा इलाम र उदयपुरमा १–१ जनाको मृत्यु भएको उनले बताए ।

फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघ कार्यालयको ट्रस्ट भत्किँदा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । यस्तै, फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ ।

यसैगरी, फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमा पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको मत्यु भएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको हो ।

धनकुटाको पाख्रिबास नगरपालिका–५ की ३२ वर्षीया आशा तामाङ र उनकी आमा ५० वर्षीया रामुकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरको रौतामाई गाउँपालिका–१ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८ मा खोलाले बगाएर ६८ वर्षीय मइतबहादुर लिम्बू्को मृत्यु भएको छ ।

यता बाढी र पहिरोमा परेर पाँचथरमा ४ जना बेपत्ता भएका छन् । फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो बेपत्ता भएका हुन् । पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी श्रीमती ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् ।

यस्तै, झापाको गौरीगन्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् भने कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशी जमुवा खोलाले बगाउँदा बेपत्ता भएकी छन् ।

झापाकै कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङको रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवा खोलाले बगाएर बेपत्ता भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *