जन्मभूमिप्रति उच्च सम्मान, कवि धरणी गौतमको ‘इलाम बोल्छ’
धरणी गौतम निवृत्त प्राध्यापक हुन् । लामो समय नेपाली भाषा र साहित्य प्राध्यापन गरेर निवृत्त जीवनमा सिर्जना र साहित्य सम्पादनको काममा लागेका गौतमले नेपाली साहित्यिक क्षेत्रका धेरै परिचित अनुहारहरूलाई भाषा र साहित्य पढाएका छन् । सिर्जनाको कला र विश्लेषणका सीप सिकाएका छन् ।
उनले पढाएका विद्यार्थीहरू नेपाली साहित्य जगतमा चिनिएका व्यक्तिका रूपमा स्थापित भएका छन् । वरिष्ठ कवि कृष्ण प्रधान, लोकप्रिय साहित्यकार कृष्ण धरावासी, कवि एवं साहित्यिक अभियन्ता राधेश्याम लेकाली, नियात्राकार; कवि एवं साहित्यिक अनुसन्धानकर्ता प्राज्ञ नन्दु उप्रेती, एकलाइन कविताका प्रवर्द्धक साहित्यकार डम्बर पहाडी, कवि एवं वरिष्ठ पत्रकार विष्णु निष्ठुरी, कवि एवं साहित्यिक अनुसन्धानकर्ता रविमान लम्जेल, बहुआयामिक साहित्यकार प्रगतिशील लेखक सङ्घका वर्तमान महासचिव देवी क्षेत्री दुलाल, वर्तमान समयका चर्चित कवि बिमल वैद्य, कवि एवं समालोचक रमेश सुभेच्छु लगायत उनका विद्यार्थी हुन् ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम र त्रिचन्द्र क्याम्पस, काठमाडौँमा प्राध्यापन गरेका गौतमको जन्मथलो इलाम हो । उनले भर्खरै ‘इलाम बोल्छ’ भन्ने कविता सङ्ग्रह प्रकाशित गरेका छन् ।
यसअघि गौतमले पाठ्यपुस्तक लेखन, समालोचना लेखन र सिर्जनात्मक लेखनका साथै विभिन्न पुस्तकहरू सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । साधारण नेपाली, संस्कृत साहित्यको इतिहास, इलाम र इलामको साहित्य, सबैको नेपाली अवलोकन तथा विवेचन, विदेश भ्रमणका केही सम्झनाहरू, इलाम बोल्छ गौतमले एकललेखन र सहलेखन गरेका कृतिहरू हुन् ।
गौतमले महेन्द्र रत्न बहुमुखी क्याम्पस जर्नल, मोलुङ मञ्जरी, श्रीमद गोपाल महायज्ञ स्मारिका, सत्य दर्पण, बौद्धिक दर्पण, पशुपतिनाथ एवं बागमती गङ्गा आरती सेवा समिति स्मारिका २०७६ र प्रजापति गौतम तथा मनमाया गौतम स्मृति ग्रन्थ जस्ता ग्रन्थहरूको सम्पादन गरेका छन् ।
यसरी हेर्दा नेपाली साहित्यमा गौतम एक कवि, समालोचक, नियात्राकार र कुशल साहित्यिक सम्पादकका रूपमा परिचित व्यक्तित्व हुन् ।
कवि गौतमद्वारा आफ्नो जन्मभूमिप्रति उच्च भावनात्मक सम्मान व्यक्त गर्दै रचिएका कविताहरूको सङ्ग्रह ‘इलाम बोल्छ’ मा उनको इलामप्रतिको गहिरो प्रेम, आत्मीय सम्बन्ध फराकिलो बुझाइ र जानकारी प्रकट भएको छ । इलामलाई जोडेर कविताहरूमा सिङ्गै राष्ट्रप्रतिको प्रेम छचल्किएको छ ।
सङ्ग्रहको पहिलो कवितामा उनले इलामप्रतिको प्रेम, इलामप्रतिको विश्वास यसरी प्रकट गरेका छन्–
अहो ! यहाँ सुन्दर यो गृहस्थ छ
फिक्री कुनै छैन सधैँ प्रफुल्ल छ
छ स्वच्छ औ शीतल भूमिमा सधैँ
बितुन् सुखैमा दिन भन्दछन् सबै ।
(इलाम, पृ.–२)
माटोको प्रेम, प्रकृतिको प्रेम, श्रमप्रतिको आस्था, मानवतावादी दृष्टिकोण, इलामको कला, संस्कृति र परम्पराप्रतिको सजगता एवं हार्दिकता, सकारात्मक जीवनदृष्टि गौतमका कविताका मूल पहिचानहरू हुन् ।
कल्पनाको वेगभन्दा यथार्थ धरातलको पदचाप गौतमका कविताका परिचय हुन् । इलामका मूर्तअमूर्त विशेषताहरू, स्थान परिचयका वस्तु तथ्यहरू, इलामे जीवनशैलीका उज्याला ज्योतिहरू, विगत र वर्तमानका अविस्मरणीय यादहरू, इलामको माटोमा सिञ्चित पसिनाका मर्महरू ’इलाम बोल्छ’ कविता संग्रहका कविताहरूमा जगमगाइरहने विषयगत दीपहरू हुन् ।
प्रकृति एवं मानवनिर्मित सुन्दरता, जलसम्पदा, मानवश्रम, संस्कृति आदिको वन्दना समेटिएको कृति बनेको छ ‘इलाम बोल्छ’ ।
इलामको भावना, इलामको चेतना, इलामको प्रेम, इलामको माया, इलामको जागरण, इलामको श्रम, इलामको सुन्दरता, इलामको आस्था, इलामको विश्वास प्रकट हुने ‘इलाम बोल्छ’ कविता संग्रह भित्रका कविताका केही अंशहरूः
दिलको पिर यो हर्ने सधैँ आनन्द अर्पने
हाम्रो यो दिव्य सौन्दर्य हेर्दाहेर्दै हराइने ।
(माईपोखरी, पृ.–१०)
फूलका गमला रम्य देखिन्छन् गृहकुञ्जमा बगैँचा गोठखेतीले झपक्क गाउँ नै यहाँ ।
(सद्भावभूमि इलाम, पृ.–१८)
जिल्लाका जनता निरन्तर यहाँ यो देशको सेवक
सेनानी प्रहरी बिनाबरदीमै बन्दैछ यो रक्षक बासिन्दा नखटे सचेत नबने रक्षा हुँदै हुन्न है यसमा केन्द्र सचेत होस् अब सधैँ यो बिन्ती गर्छौं सबै।
(सीमा रक्षक हामी पृ.– २३)
प्रा.डा. देवी नेपालद्वारा भूमिका लेखिएको यस कृतिमा २७ वटा कविता समेटिएका छन् । इलाम, अन्तुबाट सूर्योदय हेर्दा, कन्याम, सिद्धिथुम्का, सिद्धिदेवी, माईपोखरी, गजुरमुखी, सन्दकपुर, चिया कमान, इलामे युवा, अन्नभूमि इलाम, इलामेली भूमि, सद्भाव भूमि इलाम, मेरो खान्द्रुङ, इलामे थुम्कीहरूबाट, चन्द्रागिरि हेर्दै, इलाम क्याम्पस र म, सीमारक्षक हामी, कवि माधवप्रसाद घिमिरे, चिया बगान, इलामको चियबगान र टावर, गाउँब्याँसी, इलाम चिन्दा, इलाम गीत, माइबेनी, फुलगाछी, इलामको शोभा कन्याम कविता संग्रहमा समेटिएका कविता हुन् ।
यस कविताका सम्पूर्ण कविताहरू बद्ध लयात्मक छन् । प्रस्तुत २७ कवितामध्ये २३ कविता रचनामा वंशस्थ, शार्दूलविक्रीडित, उपजाति, भुजङ्गप्रयात र अनुष्टप् जस्ता वार्णिक छन्दहरू प्रयोग भएका छन् भने चारवटा कवितामा लोकछन्दहरू जस्तैः मारुनी लोकलय, सवाई लोकलय, रसिया भाका लोकलयको प्रयोग भएका छन् ।
परिचयात्मक र वर्णनात्मक शैली अवलम्बन गरी लेखिएका यो कविता सङ्ग्रह भित्रका कविताहरूले इलामको समग्र परिचय प्रस्तुत गरेका छन्, इलामको वास्तविक चिनारीको विवरण दिएका छन् । गौतमले कल्पनामा कता कता उड्नुभन्दा यथार्थमा टेक्दै हिँड्नु आफ्नो कविताको लेखन शैली बनाएका छन् ।
जीवनको लामो भोगाइ र अनगिन्ती अनुभवहरूको सञ्चयनले परिपक्क बौद्धिक व्यक्तित्व धरणी गौतमका सिर्जनाहरू आगामी दिनमा अझ सशक्त बन्नेछन्, उनका सिर्जनाहरूले इलामको गौरवलाई अझ अग्लो बनाउनेछन्, सिङ्गै नेपाली साहित्यलाई अझ उज्यालो बनाउने छन् । गुरु कवि धरणी गौतमलाई यस कृतिका लागि धेरै धेरै बधाई एवं निरन्तर सिर्जनाका लागि हार्दिक शुभकामना।
