यस्तो रहनेछ आइतबारसम्म मौसम

काठमाडौँ । मनसुन फेरि सक्रिय भएकाले मुख्य पर्वहरु नजिकिइरहेका बेला झरीमय दिन हुने भएको छ । बिहीबारदेखि देशभरको मौसम बदली हुने साथै अधिकांश स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीवारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने उल्लेख गर्दै विभागले देशभर विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षासम्म हुने जनाएको छ । यसले गर्दा ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा अनि त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसोदेखि असोज १३ आइतबारसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति धेरै वर्षाको पनि सम्भावन छ ।

असोज १० गते बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

असोज ११ गते शुक्रबारदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ ।

असोज १२ गते शनिबार देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

असोज १३ गते आइतबार वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *