नेपालमै बन्यो अलैँची ग्रेडिङ गर्ने मेसिन
इलाम । अलैँची प्रशोधन गर्ने उपकरण नेपालमै निर्माण गरिएको छ । यस्तो उपकरण नेपालमा पहिलो पटक निर्माण भएको निर्माता कम्पनीले जनाएको छ ।
यसअघि भारतबाट ग्रेडिङ मेसिन ल्याउने गरिएको थियो । त्यसबाहेक किसानले परम्परागत रुपमा भट्टीमा सुकाएर अलैँची बजार पठाउन तयारी गर्दै आएका छन् ।
कृषि यन्त्र उत्पादन गर्दै आएको कामाक्षा एग्रो एण्ड इन्जिनियरिङ कम्पनीले अलैँचीको गुणस्तर छुट्याउने काम (ग्रेडिङ) गर्ने उपकरण निर्माण गरेर सार्वजनिक गरेको हो ।
हाते र विद्युतीय गरी दुई प्रकारका ग्रेडिङ मेसिन बनाइएको कम्पनीले जनाएको छ । ती उपकरणले सुकाएका अलैँचीका दाना ठूला, मझौला र साना गरेर तीन समूहमा छुट्याइदिन्छन् ।
उपकरण निर्माणपछि अलैँची उत्पादन हुने जिल्लाहरूमा कम्पनीले पठाइरहेको छ । अलैँची उत्पादन पूर्वका प्रमुख जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा लगायतका जिल्लालाई लक्षित गरेर बनाइएका उपकरण सम्बन्धित जिल्लामा प्रदर्शन गर्ने काम भइरहेको छ ।
विद्युतीय उपकरणले एक दिनमा एक सय मन र हाते उपकरणले ५० मन अलैँची ग्रेडिङ गर्ने जनाइएको छ । विद्युतीय उपकरणको मूल्य एक लाख र हाते उपकरणको मूल्य ५० हजार पर्ने कम्पनीको भनाइ छ ।
पूर्वी नेपालमा प्रशस्त अलैँची उत्पादन हुने गरे पनि प्रशोधन नगरी सामान्य अवस्थामै निकासी हुने गरेको छ । यसले गर्दा किसानले अधिकतम लाभ लिन नसकेको अवस्था छ । इलामको फिक्कलका उद्यमी दिनेश शर्माका अनुसार गुणस्तर छुट्याएर त्यसैअनुसार मूल्य कायम गरी निकासी गर्ने हो भने किसानले गर्दै आएको आम्दानीमा वृद्धि हुनेछ । ग्रेडिङ गर्ने उपकरणले यसमा मद्दत पुग्ने शर्माको भनाइ छ ।
नेपाल उत्पादित कृषिजन्य वस्तुको निकासीमा अलैँचीको हिस्सा सबैभन्दा ठूलो छ । आर्थिक वर्ष २०७९/०८० मा पूर्वी नाका भएर ८ अर्ब २४ करोड १३ लाख रुपैयाँ बराबरको ९९ लाख ३१ हजार दुई सय ६४ मेट्रिक टन अलैँची निर्यात भएको भन्सारको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार रुपैयाँको ५० लाख ९ हजार ९० मेट्रिक टन अलैँची निर्यात भएको छ ।
पूर्वी नाका हुँदै निर्यात हुने मुख्य १० वस्तुहरुमा अलैँची पहिलो नम्बरमा पर्छ । नेपाली अलैँचीको मुख्य बजार भारत रहेपनि पछिल्लो समय अन्य मुलुकमा समेत निर्यात हुने क्रम उद्यमी शर्माले बताए ।
नेपाली अलैँची भारत, पाकिस्तान, जर्मनी, इटाली, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छ । नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भनेको मुलुक भारत हो ।
