आज रातिदेखि कोशीसहित विभिन्न प्रदेशमा वर्षा हुने
काठमाडौँ । देशका पहाडी भूभागका सोमबार मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली हुने तथा कतिपय क्षेत्रमा सफा मौसम रहने छ ।
देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको साथै देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै महाशाखाले राति कतिपय क्षेत्रमा वर्षा हुने जनाएको छ ।
सोमबार राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
मंगलबार सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
