बाबुराम भट्टराई भन्छन्, ‘१० प्रदेशको संरचना बनाउनुपर्छ’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिचानका पाँच र सामर्थ्यका चार आधारसहित १० प्रदेशको संरचना बनाउनुपर्ने धारणा राखेका छन् ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद् नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने समेत उनले बताए ।
संविधान दिवसको सन्दर्भमा ‘न्युज एजेन्सी नेपाल’ सँगको कुराकानीमा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । संविधान निर्माणका क्रममा त्रुटि भएको उनको भनाइ छ ।
‘हामीले पहिचानका पाँच आधार भनेर भाषिक पहिचान, जातीय पहिचान, सांस्कृतिक पहिचान, ऐतिहासिक पहिचान, भौगोलिक पहिचान र सामथ्र्य भनेको आर्थिक सामर्थ्य, भौगोलिक निरन्तरता लगायतका जुन आधार तय भएको थियो, त्यसमा टेकेर प्रदेश बनाउनुपर्थ्यो,’ भट्टराईले भनेका छन्, ‘त्यो भनेको दश प्रदेशको मोडेल हुन्थ्यो ।’
संविधान निर्माणताका सङ्घीयताको पक्षमा नदेखिएका काङ्ग्रेस र एमालेले बलमिच्याइँ गरेर सात प्रदेशमात्र बनाएको उनको भनाइ छ ।
‘खासगरी कांग्रेस–एमालेका साथीहरू, जो उहाँहरु सङ्घीयताको पक्षमा हुनुहुन्थेन, उहाँहरूले बलमिच्याइँ गरेर सात प्रदेश बनाउनु भयो,’ भट्टराई भन्छन्, ‘सात प्रदेशको पनि खासै आधार निर्माण भएन । त्रुटि त्यहीँबाट सुरु भयो ।’
शासकीय स्वरूपमा समेत त्रुटि रहेको भन्दै भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा नगएसम्म राजनीतिक स्थिरता नहुने दाबी गरेका छन् ।
अहिले काङ्ग्रेस एमालेले संविधान अपुरो रहेछ भन्ने बुझेर संविधान संशोधन गर्ने कुरा गरेको भन्दै भट्टराईले त्यसलाई सकारात्मक मानेका छन् । तर उनीहरूले केलाई संशोधन गर्न खोजेको हो भन्ने स्पष्ट नभइसकेको भट्टराईले बताए ।
उनले संविधान संशोधन गर्दा केन्द्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने धारणा राखेका छन् । सँगसँगै केन्द्रमा प्रतिनिधि सभा र प्रदेशमा प्रदेश सभा पूर्ण रुपले समानुपातिक हुनुपर्ने उनको धारणा छ ।
