विश्वकप लिग-२ : ओमानसँग एक विकेटले नेपाल पराजित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ । गुल्सन झाले अर्धशतकसहित ५ विकेट लिए पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन ।

क्यानाडाको किङ्ग सिटीमा बुधबार राति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए । नेपालका गुल्सन झाले ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । यस्तै गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए । ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । असोज १० गतेसम्म हुने शृङ्खलामा नेपाल, ओमान र क्यानाडा सहभागी छन् । शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानाडासँग १ सय ३ रनले पराजित भएको थियो ।

क्यानाडा ९ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । यो शृङ्खलामा नेपालले अब असोज ६ गते क्यानाडासँग र असोज ८ गते ओमान खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *