‘एक पटक बोलेको एक रुपैयाँ’ बन्यो उत्कृष्ट नाटक
महोत्सवको उत्कृष्ट नाटक ‘एक पटक बोलेको एक रुपैयाँ’ मा अभिनय गर्दै विद्यार्थीहरू ।
विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ । सोमबार रङ्गेलीको श्री एकता सेकेन्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा १० दिनसम्म भएको महोत्सवमा आयोजक र नौ विद्यालयका एक–एक गरी १० वटा नाटक मञ्चन भएका थिए । महोत्सवमा सहभागीमध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपैयाँ’ ले उत्कृष्ट नाटकको पुरस्कार पायो ।

रङ्गकर्मीद्वय उद्धव सापकोटा र दिपा पोखरेलको निर्णायक टिमले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’ का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषित गर्यो ।
यस्तै, पूर्वाञ्चल स्कुलको नाटकमा अभिनय गर्ने सुदेश चौधरी उत्कृष्ट अभिनेता र ग्रेडेड इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलको नाटक ‘बुद्धिमानी आमा’ मा अभिनय गर्ने सिमरन सुवेदी उत्कृष्ट अभिनेत्री घोषित भए ।

बिजेताहरूलाई मोरङ प्याब्सनका अध्यक्ष प्रेमराज सिंह सुवाल, गुरुकुलका अध्यक्ष भैरव क्षेत्री लगायतले सम्मान र प्रमाणपत्र प्रदान गरे । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा भएको महोत्सव भदौ २२ गते आयोजक गुरुकुलको ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै शुरु भएको थियो ।
त्यसपछि क्रमशः ग्रेडेड स्कुलले ‘बुद्धिमानी आमा’, दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श स्कुलले ‘भविष्य निर्माण’, ग्रीनल्याण्ड सेकेन्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल स्कुलले ‘एक पटक बोलेको एक रुपैयाँ’ मञ्चन गरे ।

यस्तै नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको ?’, मोरङ ज्ञानोदय सेकेन्डरी इङ्ग्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले ‘ज्ञ’, श्री एकता सेकेन्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गरे । विद्यार्थीलाई रङ्गमञ्चसँग जोड्ने हेतुले गुरुकुलले हरेक वर्ष विद्यालय नाटक महोत्सव गर्दै आएको छ ।




सराहनीय