मोरङको रतुवामाईका वडाध्यक्ष लुइँटेल भ्रष्टाचारमा दोषी ठहर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । नागरिकता लगायतका सरकारी कागजात सच्याएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई आइतबार दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ ।

गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैदका साथै सार्वजनिक सम्पतिको हानि नोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको हो ।

वडाध्यक्ष लुइँटेलले २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।

त्यसैगरी रतुवामाई नगरपालिका वडा नम्बर ६ बस्ने मेघदीप पोखरेल पनि यही मुद्दामा दोषी ठहर भएका छन् । उनले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम समावेश गराएको विशेष अदालतको ठहर छ ।

पोखरेल स्वयंले नाम दर्ताका लागि अनुसूची– ३ (क) अनुसारको दरखास्त भरी रतुवामाई नगरपालिका वडा नम्बर ६ को कार्यालयमा पेश गरेका थिए । वडाध्यक्ष लुइँटेलले निवेदन उपर छानबिन नै नगरी २०७५ भदौ १२ गते तुलसा देवीको नाम लाभग्राही सूचीमा समावेश गराएर १ लाख ४४ हजार रुपैयाँ दिलाएका थिए ।

श्रीमतीको उमेर बढाई नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने वडाध्यक्ष लुइँटेल, पोख्रेल र तुलसादेवी तथा तत्कालीन वडा सचिव कल्पना बास्तोला र इलाका प्रशासन कार्यालय मोरङका तत्कालीन नायब सुब्बा रमेश कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा कर्मचारीहरूले भने सफाइ पाएका छन् । कर्मचारीहरूको तर्फबाट अधिवक्ता लबन न्यौपाने, अधिवक्ता विनोदमणि भट्टराई लगायतले बहस गरेका थिए । दोषी ठहर भएका लुइँटेल नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि मोरङको रतुवामाई नगरपालिकाको वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष हुन् । पोखरेल स्थानीय एमाले नेता हुन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *