उपचारका लागि अस्पताल लगिएका झापाका कैदी फरार
फाइल तस्बिरः झापा जिल्ला कारागार
झापा । उपचारका लागि अस्पताल लगिएका एकजना कैदी प्रहरीलाई छलेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका २४ वर्षीय जीवन साह आइतबार बिहान फरार भएका हुन् ।
प्रहरीका अनुसार भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट साह फरार भएका हुन् । उनलाई उपचारका लागि उक्त अस्पतालमा लगिएको थियो । अस्पतालको शौचालय जाने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।
भद्रपुर नगरपालिका–५ घर भएका साहलाई छातीमा समस्या भएपछि भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रारम्भिक जाँचपछि थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका उनी जबर्जस्ती करणी मुद्दाका क्रममा पुर्पक्षका लागि कारागारमा थिए ।
प्रतिक्रिया
