इलामको फिक्कलकी युवतीको झापामा हत्या

झापा । झापाको महानन्द चोकमा धारिलो हतियार प्रहार गरी एक युवतीको हत्या भएको छ । शुक्रबार साँझ बिर्तामोड–शनिश्चरे सडक खण्डमा पर्ने अर्जुनधारा नगरपालिका–६ महानन्द चोकमा एक युवकले धारिलो हतियारले प्रहार गरी युवतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार हत्या गरिएकी युवती इलामको सूर्योदय नगरपालिका–१० फिक्कल घर भइ बिर्तामोड–५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी १९ वर्षीया मनिषा लोहारको हत्या भएको हो । छुरा प्रहारले गम्भीर घाइते भएकी उनको बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार कैलालीको गौरीगङ्गा नगरपालिका–३ घर भएका २० वर्षीय अनिल बिकले युवतीलाई हतियार प्रहार गरेका थिए । छुरा प्रहार गरी भाग्ने क्रममा स्थानीय केही व्यक्तिहरूले ती युवकलाई कुटपिट गरेका थिए । कुटपिटबाट उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बिकको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले सरल पत्रिकालाई जानकारी दिए । बिष्टकै नेतृत्वमा घटनास्थल पुगेको टोलीले कुटपिट गर्नेहरूको खोजी गरेको थियो । टोलीले स्थानीय बासिन्दासँग सोधपुछ पनि गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *