मनकामना जान अब नयाँ प्रविधिको केबलकार
काठमाडौँ । दुई महिनादेखि बन्द मनकामना केबलकार असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । प्रविधि स्तरोन्नति गर्नका लागि केबलकार असार ३१ देखि बन्द गरिएको थियो ।
पहिले ‘एनालग अपरेटिङ सिस्टम’ बाट सञ्चालन रहेकामा अब ‘डिजिटल डि-कनेक्ट सिस्टम’ प्रविधिबाट सञ्चालन हुने जनाइएको छ । मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार अस्ट्रियाका इन्जिनियरको सहभागितामा केबलकारको प्रविधि स्तरोन्नति गरिएको हो ।
उक्त केबलकार मुख्य रुपमा प्रसिद्ध मनकामना मन्दिर आउजाउ गर्न प्रयोग हुने गरेको छ । केबलकारको यात्रा गर्दै उल्लेख्य सङ्ख्यामा तीर्थयात्रीहरू मनकामना मन्दिर पुग्ने गरेका छन् ।
गोरखामा रहेको प्रसिद्ध शक्तिपीठ मनकामनामा पूजा गरे चिताएको पूरा हुन्छ भन्ने विश्वास छ । यहाँ खासगरी दसैँमा पूजा गर्न आउनेहरूको ठूलो भीड लाग्छ। प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । चितवनको मुग्लिनबाट करिब २६ किलोमिटर उत्तरमा अवस्थित मनकामना मन्दिरसम्म पुग्न करिब अढाइ दशकअघि केबलकार सुरू भएपछि दर्शनार्थीलाई सहज हुँदै आएको छ ।
