एक महिनाको अवधिमा विदेशमै अस्ताए इलामका तीनजना युवा

इलाम । करिब एक महिनाको अवधिमा इलामका तीनजना युवाले विदेशमा ज्यान गुमाएका छन् । भविष्य राम्रो बनाउने सपना बोकेर रोजगारीका लागि गएका उनीहरू उतै अस्ताएका हुन् ।

ज्यान गुमाउने सबै युवा इलामको माङ्सेबुङका हुन् । माङ्सेबुङ–२ का पर्वत राईको मलेसियामा मृत्यु भएको हो । उनको गत अगस्ट २१ का दिन मृत्यु भएको जानकारी आएको थियो ।

उनको शव सेप्टेम्बर २ मा ल्याएर भोलिपल्ट काठमाडौँको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्‍टि गरिएको सोही गाउँ निवासी राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता मिलन लिम्बूले जानकारी दिए ।

उनको शव नेपाल ल्याउन लिम्बू र अन्य इलामेलीले पहल गरेका थिए । वैदेशिक रोजगारी बाध्यात्मक परिस्थिति बनेको अवस्थामा युवाहरू केही कमाउने सपना बोकेर जाने गरेको तर यस्तो दुःखद घटनाले पिरोल्ने गरेको उनले बताए । आफूसँगै पढेको साथीले परदेशमा ज्यान गुमाउनु परेको घटनाले निकै दुःखी बनाएको मिलनको भनाइ छ ।

यसैगरी, पश्चिम अफ्रिकाको मोरिससमा सोही गाउँका हर्क कुरुम्बाङ लिम्बूको पनि मृत्यु भएको छ । करिब ६ महिनाअघि रोजगारीका लागि त्यता गएका हर्क र त्यसअघि मृत्यु भएका पर्वत दुवैले ‘आत्महत्या’ गरेको खबर आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हर्कको शव भोलि सोमबार बिहान काठमाडौँ आइपुग्ने भएको छ । त्यसपछि माङ्सेबुङ ल्याएर दाहसंस्कार गरिने मिलनले जानकारी दिए । उनी मार्च १० ताका रोजगारीका लागि त्यता गएका थिए ।

यसैगरी, माङ्सेबुङ–१ का डकिन्द्र योङहाङको दुबईमा मृत्यु भएको थियो । उनको शव ल्याइवरी गाउँमै दाहसंस्कार गरिएको छ ।

ज्यान गुमाएका मध्ये पर्वत र डेकेन्द्रले उतै आफ्नो राहदानी नवीकरण गरेका थिए । तर श्रम स्वीकृति तथा बिमाको नवीकरण हुन नसक्दा उनीहरूले पाउने क्षतिपूर्ति र अन्य सहयोग रकम नपाउने अवस्था बनेको छ । सरकारले दिने प्रतिव्यक्ति ७ लाख रुपैयाँ र कम्पनीले दिने रकमका साथै बिमाको रकम पनि नपाउने अवस्था बनेको हो ।

सरकारले यस्तो अवस्था आउन नदिन आफ्नो दूतावासमार्फत् ती सबै प्रक्रियामा पहल गर्ने र नवीकरणलगायत पक्षलाई गम्भीरतापूर्वक लिनुपर्ने मिलनको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *