झापा र मोरङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु

झापा । झापा र मोरङमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङमा भएको दुर्घटनामा बुबाको मृत्यु भएको छ भने उनका छोरा घाइते भएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका–९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकल अगाडि गइरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको थियो । त्यही बेला पछाडि आइरहेको ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ठक्करले दुवैजना घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएका उनीहरुमध्ये रामबहादुरको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।

घाइते रञ्जितको उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दुर्घटनामा परेका तीनैवटा सवारी साधन तथा बसका चालक उर्लाबारी–४ का राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ । टिपर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, झापाको हल्दीबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गएराति दुईजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ मा पर्ने हुलाकी मार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा हल्दीबारी–५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र–६ प्रकाशपुरका २१ वर्षीय बिकेश कार्कीको मृत्यु भएको हो । राजगढबाट जलथलतर्फ जाँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । गाडी चालक भद्रपुर–२ का ३७ वर्षीय दिपेन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *