विमान दुर्घटनाबारे अध्ययन गर्न आयोग गठन, भोलि शोकमा झण्डा झुकाइने

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन छन् ।

सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई, सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी, सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । यसैगरी, विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको पनि मन्त्री गुरुङले जानकारी दिए ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *