त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

काठमाडौं । त्रिशुली नदीमा शनिबार बिहान ट्याक्सी खस्दा पाँचजनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका, हरिमायाका छोरा आगमन, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाईँ ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेको प्रहरीले जनाएको छ । हरिमायाका नाति दिवस रोका बेपत्ता छन् ।

गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन । उनीहरु जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्यष्टि गरेर शनिबार बिहान घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *