विराट गोल्डकप : पुलिस र भुटानबीच उद्घाटन खेल

विराटनगर । विराट गोल्डकप आठौं संस्करणको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटिसी) ले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ ।

विराटनगरको सहिद मैदानमा चैत १५ गते सुरु हुने गोल्डकपबारे जानकारी दिँदै गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले रात्रिकालीन खेलको उद्घाटनमा आरटिसी एफसीले पूर्वविजेता नेपाल पुलिस क्लबको सामना गर्ने तय भएको जानकारी दिए ।

खेल साँझ पौने ६ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको शाहीले बताए ।

ट्रष्टका सचिव तथा गोल्डकप प्रचार प्रसार समिति संयोजक ध्रुव सिग्देलले समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको जानकारी दिए ।

समूह ‘बी’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्दन समिति कोलकाता, त्रिभुवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब रहेको सिग्देलले बताए ।

२०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको गोल्डकप २०६८ बाट विराट गोल्डकपमा परिवर्तन भएको हो ।

तत्कालीन महेन्द्र गोल्डकपमा विभागीय पुलिस क्लबले तीन पटक उपाधि चुमिसकेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि चुमेको थियो ।

चैत २४ गते हुने फाइनलमा विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ हात पार्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *