इलाम-२ उपनिर्वाचन : कांग्रेसमा क-कसको नाम सिफारिस ?

काठमाडौं । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

क्षेत्रले पठाएका नामहरु जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउने जनाइएको छ । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्थाअनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

सिफारिस गरिएका नामहरुमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए ।

यसैगरी आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको जनाइएको छ ।

सिफारिस भएका नामहरुमा जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले टुंगो लगाउने उनले बताए ।

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *