पाथीभरा क्षेत्रका रूख नकाट्न कोशी सरकारको ध्यानाकर्षण

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रका रुख काट्न नदिन सरोकारवालाले माग गरेका छन् । उनीहरुले आज कोशी प्रदेशकका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

‘मुकुम्लुङ (पाथीभरा) बचाउ अभियान’ मा आबद्ध विभिन्न ७ वटा संस्थाले मन्त्री उप्रेतीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । पाथीभरामा केबल कार निर्माण गर्ने प्रक्रियाका लागि रुख कटान गर्ने भनिएपछि उनीहरुले विरोध गरेका हुन् ।

यस्तो माग गर्ने संस्थाहरुमा मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, लिम्बु थरगत संस्था छन् ।

यसैगरी, किरात याक्थुङ चुम्लुङ, पहिचान सहितको प्रदेश नम्बर प्रदेश पुनः नामाङ्कन अभियान समितिलगायत संस्थाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांस्कृतिक सम्पदा तथा जैविक विविधता नास्ने काम नगर्न उनीहरुले आग्रह गरेका छन् ।

मुकुम्लुङ लिम्बुरयाक्थुङ समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थलको संबर्द्धन र संरक्षण गर्न त्यहाँका बासिन्दा र आम जनसमुदाय लामो समयदेखि आन्दोलनरत रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा कथित विकासको नाममा मुन्धुमी, सांस्कृतिक सम्पदा, आध्यात्मिक पवित्र स्थल मुक्कुम्लुङमा केबलकार निर्माण गर्नका लागि प्राकृतिक स्रोत नष्ट नगर्न भनिएको छ ।

लालीगुराँस लगायत पचासौं हजार मुन्धुमी बोट विरुवा काट्न नदिन उनीहरुले आग्रह गरेका छन् । यस्तो माग यसअघि वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयमा बुझाइसकेको समिितले जनाएको छ ।

समुदायको मागविपरीत, पर्यावरण, पुरातात्विक तथा जैविक विविधता सर्वनास गर्ने गरी एउटा व्यापारीलाई करिब हजार वर्षमा समयमा हुर्के बढेका पचासौं हजार रुखहरु कटान गर्न वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालयबाट दिएको अनुमतिपत्रको समय सकिएकाले फेरि रुख कटान गर्न अनुमति नदिन माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *