प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

मंगलबार संसदभवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले ह्विपकै रुपमा आफ्नो निर्देशन मानेर सबै सांसदलाई दाहाललाई विश्वासको मत दिन निर्देशन दिए ।

उनले दाहाललाई विश्वासको मत नदिए देश ठूलो दुर्घटनामा जाने समेत जिकिर गरे । प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा रहेको भन्दै उनले सबैलाई विश्वासको मत दिन ह्विप लगाए ।

नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प होकि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिए ।

ओलीले भने, ‘अहिलेको यो परिवर्तन सकारात्मक छ । यसैलाई अगाडि बढाउनुपर्छ । यो असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । एमालेका लागि यो बेस्ट अप्सन होकि होइन भन्ने कुरा छोडिदिउँ, यतिबेला अर्को कुनै विकल्प छैन। कि प्रचण्डको नेतृत्वमा बनेको समीकरणले जित्छ । नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको भोलि अल्पमतको सरकार बन्छ । दुइवटा मध्ये एउटा कुरा हुन्छ ।’

उनले कांग्रेसको सरकार बने देश दुर्घटनामा जाने र त्यसो हुनबाट रोक्नुपर्नेभन्दै थपे, ‘हामी सबै उत्साहको साथ मतदान गर्नेर्छौं । कमरेडहरुलाई निर्देशन नै हो,’ ओलीले भने ।नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका उनले तत्कालिन गठबन्धन ‘खरानीको डल्लो’ भएको र त्यसलाई आफुले फुटाइदिएको बताए ।

‘गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपर्थ्यो,’ उनले भने ।ओलीले सरकार परिवर्तन एमालेले नै गरेको र जस पनि आफैंले पाउनुपर्ने भन्दै उक्त विषयमा चीनलाई बीचमा नल्याउन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *