‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकास गर्न ‘नेपाल कहिल्यै बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताएका छन् ।

शनिबार नेपाल शिक्षक संघ बागमती प्रदेश चौथो प्रतिनिधि सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले देशमा राजनीतिक प्रणालीले काम गर्न सक्यो भने मात्र मुलुकले गति लिने उल्लेख गर्दै नेपाल बन्दैन भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताए ।

‘यो देश सिस्टमले बनाउने हो कि हिरोले बनाउने हो ? एउटा फिल्मको हिरोले बनाएजस्तो गरेर देश बन्दैन । देश बनाउनका लागि सिस्टमको आवश्यकता छ । नेपाली कांग्रेसले सिस्टम समात्छ । यो देशको विकासका लागि ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक छ ।’

मुलुकमा राजनीतिले सिस्टममा चल्न सकेन भने मान्छे हिरोइजमको पछि लाग्ने महामन्त्री शर्माको भनाइ थियो । उनले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिट्टै दर्ता गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले भने, ‘आधा शताब्दीपछि आएको शिक्षा विधेयक संसदमा छ । अस्तिको सदनले पास गर्नुपर्थ्यो गरेन भन्ने गुनासो आयो । यो स्वाभाविक हो । तर के कुरा स्पष्ट पार्न चाहन्छु भने अस्तिको सदन भनेको बजेट अधिवेशनका लागि हो । संसदमा एउटा बजेट र अर्को विधेयक अधिवेशन गरेर दुईवटा अधिवेशन हुन्छन् । अहिले हामी सबैको जोड भनेको ५० वर्षपछि आएको शिक्षा विधेयक पास हुनुपर्दछ ।’

शिक्षा विधेयकमा विभिन्न पक्षहरु सुधार्नुपर्ने भएकाले आफूहरु शिक्षकको संरक्षण र सेवा सुविधका लागि बोलिरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *