गठबन्धनको विपक्षमा महामन्त्री शर्माको प्रतिवेदन

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ललितपुरको गोदावारीमा जारी महासमिति बैठकको दोस्रो दिन महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरे ।

महामन्त्री शर्माले भने,‘संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुराउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।’

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरे । उनले भने,‘पटक पटकको संसद् विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धी हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।’

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरे । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताए ।

महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरी माथी खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समिक्षा गर्नुपर्ने बताए ।  ‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टी र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमशः समाधान गरेर जाने संकल्प र दृढणता राख्नुपर्छ,’उनले लेखेका छन् ।

महामन्त्री शर्माले राजनीतिकप्रतिको विकर्षण अन्त्य गरि देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग वृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षासहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको बताए ।

यदाकदा उग्र राष्ट्रवाद देखिने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले भने,‘उग्र राष्ट्रवादका कारण बाह्य लगानीको वातावरणलाई विगतमा परेका असरहरूले छोडेका प्रभावहरूको पृष्ठभुमिमा फेरि त्यस्तो स्थिती आउन नदिन गम्भिर सर्तकता अपनाउन जरूरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *