‘आचरणविपरीत कार्य गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले पत्र काट्नु हास्यास्पद’

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक डा. सुनीलकुमार शर्माले शिक्षामन्त्री अशोककुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् ।

आवासीय चिकित्सक डा. विशद दाहाललाई कलेजको नियमविपरीत कार्य गर्दा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा. शर्माले कानुनी उपचारमा जाने बताएका हुन् ।

‘आचरणविपरीत कार्य गरेका एकजना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो । शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन’ डा. शर्माले भने, ‘एउटा विद्यार्थीले आचरणविपरीत कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ?’

शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो ।

उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण विग्रिएको डा. शर्माको भनाई छ ।

डा. शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारवाही गरिएको भन्दै एक महिनापछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताए ।

‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मान्दिन भन्छ भने कारवाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो । एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौं विश्वविद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौं ।’

कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउन भन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको जिकिर गर्दै डा. शर्माले भने ।

डा.शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्दै दूर दराजमा रहेकालाई स्वास्थ्य सेवा नदिने रणनीति अनुसार केएमसीलाई बदनाम गर्न खोजिएको उनको जिकिर थियो ।

केएमसीले निलम्बन गरेपछि आवासीय चिकित्सक डा.दाहालले दैनिक रुपमा आन्दोलन गर्दै आइरहेका छन् । उनलाई केएमसील् प्रवेशमा रोक लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *