जूनसँगको रात

जब साँझले अँगालो हाल्छ
आफैँलाई भुलिदिन्छ उ
ठण्डी–गर्मी, घाम–बादल
वर्षा या खडेरी त उसकै शरीरमा
घुमिरहने यामका चक्र जस्तै हुन्
नसोधी आउँछन्, उसैगरि जान्छन्
बस.. आइरहन्छन्, गइरहन्छन्
समय चक्रमा बाँधिएका होलान्
यस्तो बाँधिनु छैन उसलाई ।१।

०००

सोचिरहनु पर्दैन अचेल
भोगिसकेको समय
चाउरिएका निधारका रेखा
र, फुटेका पैतालाहरु नै
दसी प्रमाण छन् उसका लागि
भाव त यादहरुमा पो आउँछ
भाव त साथहरुमा पो आउँछ
न साथ, न याद
निर्बन्ध वर्तमान जिन्दगी ।२।

०००

नजिकै दहमा जून नाच्दैछ
सिरसिरे बताससँगै
लुटपुटिएका मसिना छालहरुसँग
चिरबिर आवाजहरु गुञ्जिएका छन्
माधुर्यका भाकाहरु
ढिस्काको आड लिएर
उ कोल्टे फर्कियो
र, उसँगै पुरानो धुसा पनि
उतैतिर पल्टियो सिरेटोसँगै ।३।

०००

धुसाको लम्बाई छिचोलेर
जून उसँगै लुटपुटियो
जूनसँग उसको अगाध प्रेम छ
उति नै त्यो पुरानो धुसासँग
आधा निदाएका चिम्सा आँखाहरु
केही बोल्न खोज्छन्
परेली नाघेर जान खोज्छन्
जूनका घरसम्म
ताराहरुसँगै पिलपिलाउँदै ।४।

०००

किराहरुको किरिरीसँगै
मिर्मिरेले ब्युँझायो उसलाई
क्षितिजमा लाली पोतिन थालेपछि
लुक्यो जून पनि दहको किनारतिर
र, सिरेटोको सुस्केरा हाल्दै
ब्यूँउझिइन् सानी छोरी
अर्थात् यादको अन्तिम चिनो
नाप्नु छ अब– शहरका गल्लीहरु
‘खुसी’ का खोस्टाहरु बटुल्न ।५।

(‘मध्यान्तर‘)
०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *