दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई दिइने भएको छ ।

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

यी पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार रुपैयाँ छ ।

नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि पत्रकार झालाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

यसअघि भाषा साहित्य पुरस्कारबाट साहित्यकारहरू प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. अभि सुवेदी, प्रा. डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला, प्रा. डा. चूडामणि बन्धू र सनत रेग्मी पुरस्कृत भइसकेका छन् ।

यसैगरी, पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, किशोर नेपाल, भूषण दाहाल, मोहन भण्डारी र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ ।

यस वर्षका पुरस्कारहरू मंसिर ३० गते विशेष समारोह आयोजना गरी विराटनगरमा समर्पण गरिने प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *