तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा आजै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा एकै दिन परेको छ ।

तिथिका कारण एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेकाले उज्यालो पर्व तिहारको दोस्रो दिन आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ ।

नरक नुहाएपछि इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने मानव समाजको सहयात्री बनेको बफादार प्राणी कुकुरलाई प्रेमपूर्वक पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ । त्यसैले घरघरमा कुकुरको पूजा गरिन्छ ।

यस्तै साँझ घरघरमा पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर वरपर तथा भित्र सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, कौसी, भर्याङलगायत स्थानमा सरसफाइ गरिन्छ ।

गोबर र रातो माटोले आँगन वा तुलसीको मोठदेखि मूलढोका हुँदै पूजाकोठा वा लक्ष्मी स्थापना गरेको स्थानसम्म पोतेर त्यसमाथि चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । उक्त, पाइला पिच्छे माटोको पालामा दीप प्रज्वलन गरी उज्यालो पारिन्छ र दीपावली गरिन्छ ।

दीपावली गरिसकेपछि धनधान्य र संमृद्धिकी देवी लक्ष्मीको पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी, मिठाई, फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

यसरी आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको पाइन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । यस्तै, लक्ष्मीपूजागरिसकेपछि भैली खेल्ने प्रचलन छ । तिहारको साँस्कृतिक र मनोरन्जनात्मक खेलभैली आजै रातीदेखि खेल्ने गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षमा पर्ने चार विशेष रात्री मध्येको एक सुखरात्री आजै परेको छ । आज राती संमृद्धिको देवी लक्ष्मी धर्तीमा विचरण गर्न आउने र आशिस दिएर फर्किने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *