पार्श्व सपना र सेतो फूल (कविता)

माइखोलाको भेलसँगै
बगे उसका चाहनाहरु पनि
खुइलिए जीवनका रङहरु
नथामिएका पसिनाले पनि
दिन सकेनन् जीवत् खुसीहरु
कहिले काँडा बनेर बिझाउँदा
त कहिले टाढा बसेर गिज्याउँदा
उ छुट्टियो– आफ्नै धर्तीसित ।

०००

आफ्नै मनको विद्रोहसँग
पटक पटक हारेपछि
अलकापुरी बगैचामा
अलोकित कल्पवृक्ष सजाउँदै
जिजीविषा अलिकति तन्काउन
र, जिन्दगी रङ्ग्याउनका लागि
उ परदेश हिंड्यो
काखीमा सपनाको पुन्तुरो च्यापेर ।

०००

अलक्षित गन्तब्यमा
मात्रै कमाउने चाहानाहरुसित
अविराम पाइलाहरु नापिए
अनगिन्ति डोबहरु पनि पुरिए
निरन्तर भौतारिरहेको छ उ
सडकका भीडभाड
र, गल्लीका एकान्त कुनाहरुमा
अझै भेटिएको छैन कल्पवृक्ष !

०००

आँधीपछिको सन्नाटासँगै
छालहरु पनि डुब्दै गए
र गहिरो पिँधमा थिगरिएर बसे
यता उसका सपनाहरु भने
किनारामा गुजुल्टिएका छन्
फिँजहरुमा अड्किएर
कुइनेटाहरुमा रड्किएर
आफ्नै समाधि चढाउन ।

०००

आज जूनले पनि चिहाएन
बादलसँगै उडिगएछ
ताराहरु मात्रै बगी जाँदैछन्
क्षितिजको घेराहरुसित बेरिन
वेगले हुत्याएर छाडिदिएको
एकमुठी सिरेटो ओडेर
एकटकले नियालिरहेछ उ
फुट्दै गरेका जीवनका फोकाहरु ।

०००

पसिनाको लिलामीबाट फर्किँदा
शहर उँघिसकेको थियो
रहर कुँदेर देखाउन आफैंलाई पनि
भूतलाई त बिर्सनै पर्छ
थकित शरीर भुसुक्क निदाएछ उ
अनि सपना भएर आए–
थलिएर मझेरिमा पल्टिएकी आमा
र, आँगन छेउका सेता फूलहरु ।

०००

क्षितिजमा लाली नपोखिँदै
साइरनको कर्कश आवाजले
बिउँझिन नपाउँदै ढल्यो उ
बारुद र धुवाँका मुस्लाहरुले
घेरिसकेको थियो उसलाई
र, छटपटिएको देहसँगै
सपनाहरु पनि उडिसकेका थिए
आफ्नै मृत्युको खबर सुनाउन ।


प्रतिक्रिया

4 thoughts on “पार्श्व सपना र सेतो फूल (कविता)

  1. जब यो कबिता तेश्रो पटक पढे मननै शिथिल भयो, काम गर्ने इच्छा शक्तीनै जागेन, र बाध्य भए दुइ शब्द लेख्न । साच्चीकै करुणा रसले भरियकोछ यो कबिता जसले मान्छे लाइ क्षणभरमै शुन्यतामा ल्याइ दिन्छ । धेरै हैन अस्याध्यै धेरै मन छोयो यो कबिता अरु कबिताको तुलनामा पृथक हो ।
    माइ खोलाको छाल सँगै हराइ दिन्छ परिदृष्य ।
    निमुखाको सपनाहरु बनि दिन्छ कल्पबृक्ष ।
    पटुकी भित्रै लुकी रह्यो बेदना र भोकाहरु ।
    चर्याइ रहने घाउ बन्यो दुःख का ति फोकाहरु ।
    दैब पनि निर्मोही बन्यो बेदनाको आशा माथी ।
    गिद्धहरु रम्दै होला निमुखाको लास माथी ।

    1. धेरै धेरे धन्यबाद नारायण सर गहन समीक्षा, भावुक विचार र हाैसलाका लागि । तपाइकाे साहित्यिक चेत, गहिराइ र समभावना धेरै शक्तिशाली लाग्छ मलाइ । तपाइले व्यक्त गर्नु भएकाे पुरक रचनाले सिर्जनालाइ पुर्ण बनाएकाे छ । पुनः धेरै धेरै धन्यबाद हजुरलाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *