यसपालिको दसैँ : टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । मंगलबार समितिले विज्ञप्ति जारी गर्दै साइत सार्वजनिक गरेको हो ।

असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

उनका अनुसार असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ भने पश्चिम फर्केर झण्डा फेर्नुपर्ने छ । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ र फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जानकारी दिएको छ ।कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ ।

विजयादशमीका दिन बिहान ९ः२ बजे तलेजु भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *