कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीति बनाउन छलफल

 

विराटनगर । कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धनको पहल सुरु गरिएको छ । यसका लागि सरोकारवाला निकायबीच छलफल सुरु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीति सम्बन्धी छलफल भएको हो ।

कार्यक्रममा कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठुलो समस्या रहेको बताउदै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताए ।

उनले प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानहरुलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको समस्या समाधान गर्न आफू समेत लागिपर्ने बताए । ‘रणनीति बनेको खण्डमा प्रदेशको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुग्छ, किनभने हाम्रो कृषि क्षेत्रको नशाहरु नै बिग्रिएका छन्, एउटा नशाको उपचार गर्यो भने अर्कोतिर समस्या आइहाल्छ’ राज्यमन्त्री महताले भने ।

आफूले नेतृत्व गरेको मन्त्रालयबाट सकेसम्म किसानहरुलाई अघि बढाउन र व्यावसायिक रुपमा उत्पादन क्षेत्र विस्तार गर्न लागिपर्ने प्रतिवद्धता पनि मन्त्री महताले जनाए ।

महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउनका लागि राम्रो रणनीति बनाउन छलफल आयोजना गरिएको जानकारी दिए । उनले जबसम्म व्यापारयोग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताए ।

त्यसका लागि कृषि क्षेत्रको पनि व्यापार सन्तुलनमा महत्वपूर्ण भूमिका रहने हँुदा कृषिजन्य वस्तु उत्पादन र उत्पादन मूल्य शृंखला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा राउतले जोड दिए ।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई इमान्दारीता साथ अघि बढाउन सवै क्षेत्रको सहयोग रहनु पर्ने बताए । उनले आवश्यकता परेको खण्डमा अप्रिय निर्णय लिएर भएपनि काम गर्नुपर्ने सुझाव दिए । छिमेकी मुलुकबाट आयातमा भइरहेको सहजताका कारण मात्रै विभिन्न क्षेत्रले सुरक्षित महसुस गरेको जानकारी उनले दिए ।

कार्यक्रममा प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरुले काम गर्नुपर्ने सुझाव दिए । उनले कृषि उत्पादनको लागत कम गर्नका लागि सरकारले नै ध्यान दिनुपर्ने बताए । कोइरालाले अहिलेकै अवस्थाको कृषि उत्पादनले ठूलो बजारमा प्रतिस्पर्धी क्षमता तयार गर्न नसक्ने दाबी गरे ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले व्यापार प्रबर्द्धन रणनीतिमा प्रस्तुत गरिएको विषयहरुलाई तथ्यांकको तथ्यगत विश्लेषणबाट यथार्थपरक बनाउनु पर्ने बताए ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले व्यापार प्रबर्द्धन रणनीति कार्यक्रममा नीजि क्षेत्रबाट व्यापार प्रबर्द्धनका लागि के के र कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ विस्तृत रुपमा आउनुपर्ने बताए ।

सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा मूल्य शृंखलाका लागि बालीहरुको पहिचान गर्नुपर्ने सुझाव दिए ।

यस्तै, कृषिविज्ञ डा.राजेन्द्र उप्रेतीले नेपालमा ठूलो खालका गोदाम घरहरुको निर्माण हुन सके उत्पादनले बजार सुनिश्चितता प्राप्त गर्नसक्ने बताए ।

प्रदेश महासंघका अध्यक्ष राउतको अध्यक्षता र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री महतोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सम्ब्न्धित मन्त्रालयका उच्च पदस्थ अधिकृतहरु, विभिन्न उद्योग वाण्ज्यि संघहर, वस्तुगत संघहरु, कृषि व्यवसायी लगायत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *