‘आमा’ मञ्चनसँगै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ ।

हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो ।

जस्तोसुकै दुःखमा पनि विचलित नभइ सन्तान सुखका लागि लागिपर्ने तमाम आमाहरुलाई एकाकार रुपमा हेर्दै अभिभावक र सन्तानप्रतिको सम्बन्ध देखाउन खोजिएको उक्त नाटकबाट सन्तानलाई सम्पत्ति भन्दा पनि संस्कारको आवश्यकता पर्छ भन्ने सन्देश दिइएको थियो ।

विद्यालय कै विद्यार्थी आयुषा कार्कीद्धारा लिखित तथा शिक्षक करुण पोखरेलद्धारा निर्देशिक नाटकमा लेखक कार्कीसँगै एन्जिला चौधरी, रेश्मिना कोइराला, लिजा जैसवाल, खुश्बु यादव, इशु साह, श्वेता दास लगायतले अभिनय गरेका थिए ।

उक्त नाटकसँगै समापन भएको महोत्सवमा विराटनगरका विभिन्न ९ विद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए । बाल मनोविज्ञान, सामाजिक विकृति, मेलमिलाप र सहिष्णुता जस्ता विषयहरुमा नाटक तयार गरेर विद्यार्थीहरुले अभिनय गरेको महोत्सवमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ उत्कृष्ट नाटक घोषणा हुँदै पुरस्कृत भयो ।

यस्तै ‘कोपिला’मा अभिनय गर्ने ग्रिनल्याण्ड स्कुलका विद्यार्थी आरभ कोइराला उत्कृष्ट अभिनेता र सम्पदा निरौला उत्कृष्ट अभिनेत्री घोषणा हुँदै पुरस्कृत भए । गुरुकुलले विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण आयोजना गरेको हो ।

आवेदनका लागि फारम भरिसकेका विद्यालय छनोट गरी निशुल्क प्रशिक्षण तथा प्राविधिक सहयोग गरी प्रोत्साहन गरेको गुरुकुलले विद्यार्थी र रङ्गमञ्च जोड्ने पुलको काम गरेको गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *