रेग्मी र न्यौपाने दधिराज सुवेदी पुरस्कारबाट सम्मानित

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मीलाई प्रदान गरिएको छ ।

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिएको छ ।

साहित्यतर्फको पुरस्कारको राशि ५१ हजार तथा पत्रकारितातर्फ पुरस्कारको राशि २५ हजार छ ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले पुरस्कार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा माननीय सभासदद्वय केदार कार्की, ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, प्राज्ञ गंगा सुवेदी विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गरेका थिए ।

पुरस्कृत स्रष्टाद्वयको परिचय कवि चूडामणि नेपाल ‘अकिन्चन’ र पत्रकार कुमार लुइँटेलले दिएका थिए ।

सम्मानित स्रष्टालाई समर्पण गरिएको सम्मानपत्र, रूपकराज सुवेदी, इन्दु सुवेदीले वाचन गरेका थिए भने अतिथिको स्वागत प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले गरेका थिए । कार्यक्रम सन्चालन प्रतिमा निरौलाले गरेकी थिइन् ।

सम्मानित स्रष्टाहरूले विगत र वर्तमानमा आफ्नो साहित्यिक र पत्रकारिता क्षेत्रमा गरेको कार्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज र रूपकराजले पिताजीको नाममा राखेको १५ लाख अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार समर्पण गर्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *