सिक्किमको ग्रामीण भेगमा भानु जयन्ती : विशिष्ट अनुभूति

रुचि जागेदेखि नै साहित्यका अनेक कार्यक्रममा सहभागी हुँदै आएको छु । आफ्नो प्रस्तुति दिंदै आएको छु । विभिन्न स्थानमा आयोजना हुने गरेका साहित्यिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदाका विविधतायुक्त अनुभव सँगालेको छु ।

यसपटक एउटा विशिष्ट खाले अनुभूति गराउने कार्यक्रममा सहभागी हुन पाउँदा रोमाञ्चक अनुभव भएको छ । सन्दर्भ हो– यो वर्षको भानु जयन्ती ।

सिक्किमको याङगाङमा भालेढुङ्गा साहित्यिक मञ्चद्वारा जुलाई १३ (असार २८ गते) आयोजना गरिने २०९औँ भानु जयन्ती समारोहमा सामेल हुन २६ गते नै सिक्किम पुगेको थिएँ ।

श्रद्धेय साहित्यकार भिनाजु–दिदी पुण्य शर्मा र गीताश्री शर्मा सपरिवारबाट प्राप्त आतिथ्य र हार्दिकताले झोराहाटदेखि पर कतै विदेशी भूमिमा भएजस्तो नै लागेन । आमाको माया उत्तिकै पाएँ ।

दिदीघरदेखि गाडीमा २ घण्टा पर ग्रामीण क्षेत्र (याङगाङ) मा थियो कार्यक्रम । त्यहाँ पुग्दा दिदी र आयोजक साथीहरुले ‘हाम्रो सानो कार्यक्रममा आउनु है’ भनेर निम्ता गर्नुभएको कुरा झूटो सावित भयो ।

मैले मेरो जीवनमा भानु जयन्ती विषयक त्यति भव्य, सभ्य, लामो र नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति आत्मगौरव गराउने कार्यक्रम कहिल्यै देखेको–भोगेको थिइनँ । म कार्यक्रमको भव्यताभित्र हराइरहेको थिएँ ।

पद्मश्री पुरस्कारबाट सम्मानित आदरणीय विद्वान साहित्यकार सानु लामाको सान्निध्यमा थिएँ । सँगै हुनुहुन्थ्यो– अग्रज साहित्यकार प्रद्युम्न श्रेष्ठ, विधायिका राजकुमारी थापा, सत्तारुढ प्रभारी बस्नेतजी, अग्रज साहित्यकार पुण्य शर्मालगायत दर्जनौँ वरिष्ठ व्यक्तित्वहरु । धेरैजनाको नाम ख्याल गर्न सकिनँ । पत्रकारहरु लगायत करिब १२०० सहभागीको सघन र समर्पित उपस्थिति थियो ।

मलाई लाग्छ– खासमा म कवितामा अभिनयका लागि निम्त्याइएको थिएँ । कुनै न कुनै सन्दर्भमा मलाई पटकपटक मञ्चमा पुर्याउने आयोजक परिवारप्रति आभारी छु । अभिनयमा सहयोगी भूमिकासाथ साँच्चैमा रुने गीताश्री दिदीलाई धन्यवाद भन्छु । दर्शक–स्रोता दीर्घाबाट मलाई बुलन्द ऊर्जा प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरुलाई हृदय बिछ्याएर नमन गर्दछु ।


प्रतिक्रिया

One thought on “सिक्किमको ग्रामीण भेगमा भानु जयन्ती : विशिष्ट अनुभूति

  1. हाम्राे भानुजयन्ती समारोहका विशिष्ट अतिथी तपाईँको प्रस्तुती सारै राम्रो लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *