दैनिक आधा किलो मासु खाने दारा सिंह हनुमान बन्न शाकाहारी भए

प्रसिद्ध पहलवान, कलाकार, निर्देशक तथा नेताका रुपमा समेत परिचित भारतका दारा सिंह बितेको ११ वर्ष भएको छ । विभिन्न कीर्तिमान बनाएका भारतका पहिला अन्तर्राष्ट्रिय रेसलरका रुपमा नाम कमाएका उनले ५०० भन्दा बढी प्रतिस्पर्धाहरुमा कहिल्यै हार ब्यहोर्नुपरेन ।

६.२ फिट उचाइ र १२७ किलो वजन भएका दारा सिंहले २०० किलो वजनका विश्वप्रसिद्ध रेसलर किङ कङलाई समेत हराएका थिए। खेलका क्रममा उनले किङ कङलाई उठाएर रिङबाहिर फ्याँकिदिएको घटना अझै चर्चित छ ।

प्रतिभाशाली दारा सिंहले रामायण धार्मिक शृङ्खलामा हनुमानको चरित्र उत्कृष्ट रुपमा निर्वाह गरेका थिए । त्यसपछि भारतका कतिपय ठाउँमा उनको पूजा पनि गर्न थालिएको थियो ।

चलचित्र र शृङ्खलाहरुमा काम गर्ने बेला उनलाई खाजा, खाना खुवाउनकै लागि मात्र दुईजना कर्मचारी खटिएका हुन्थे । उनलाई निरन्तर काजु, बदाम खुवाइरहनुपर्थ्यो ।

उनले एकैपटकमा दुई लिटर दूध पिउँथे। खसीको आधा किलो मासु उनको खाजाको हिस्सा थियो ।

सन् १९२८ नोभेम्बर १९ मा भारतको पञ्जाब प्रान्तस्थित धरमूचक गाउँको सिख परिवारमा जन्मिएका दारा सिंहले सुरुआती दिनमा एउटा उद्योगमा मजदुरी काम गरेका थिए ।

गाउँको चलनअनुसार १४ वर्षको उमेरमा बिहे उनी १७ वर्षकै उमेरमा बुवा बनेका थिए ।

ठूलो ज्यान र उस्तै आकर्षक उचाइ भएका उनले जब हरनाम सिंह नामका रेसलरसँग भेटे, त्यसपछि उनकै सल्लाहमा रेसलिङको तालिम लिएका थिए ।

तालिम सकेपछि उनले विश्व च्याम्पियन बनिसकेका बिल वरना, फिरपो, जोन डिसिल्भा, रिकिडोजन, स्काई हाईजस्ता पहलवानसँग खेलेका थिए ।

ज्यान तन्दुरुस्त राख्न उनी दैनिक दुई लिटर दूध पिउँथे । दैनिक खान्कीमा खसीको आधा किलो मासु, घिउ, १० वटा रोटी, बदाम, काजु, किसमिस जस्ता कुरा खान्थे ।

बिहान र बेलुकाको खानाबाहेक उनी बिहान खाजा खाँदैन थिए । शरीर स्वस्थ राख्न उनी हप्ताको एक दिन व्रत पनि बस्ने गर्थे ।

विदेशमा आयोजना हुने कुस्ती प्रतियोगिताहरुमा सफलता पाउँदै गएपछि उनलाई हिन्दी फिल्महरुमा काम गर्ने अवसर पनि आउन थाल्यो। सन् १९५२ मा दिलीपकुमारको फिल्म ‘संगदिल’ बाट उनले अभिनय सुरु गरेका थिए ।

त्यसपछि उनले धेरै फिल्ममा काम गरे । त्यसले गर्दा उनको रेसलिङ अभ्यासलाई असर गर्यो । खानपिनले पनि शरीर बिगार्दै लग्यो । उनको लक्ष्य थियो विश्व च्याम्पियन बन्ने तर फिल्ममा समय दिंदा लक्ष्य प्रभावित हुने देखेपछि अफरहरु अस्वीकार गर्न थाले ।

त्यसपछि लगातार अभ्यास गर्दै गए । त्यस क्रममा उनले कैयौं प्रतियोगिताहरुमा विजय हासिल गरे । आखिर सन् १९६८ मे २९ का दिन उनले प्रसिद्ध रेसलर लाउ थेजलाई पराजित गर्दै विश्व च्याम्पियनको उपाधि हात पारिछाडे ।

उनले पराजित गरेका अमेरिी रेसलर लाउ थेज तीन पटकसम्म ह्याभीवेट च्याम्पियन बनिसकेका थिए। दारा सिंहसँग पराजित भएपछि उनले भनेका थिए– दारा सिंह कुशल र दक्ष खेलाडी हुन्, मलाई उनीसँग हार्नुमा कुनै नमज्जा लागेको छैन ।

विश्व च्याम्पियन बनिसकेपछि उनी फेरि फिल्मी दुनियाँमा प्रवेश गरे । १९७० मा पञ्जाबी फिल्म निर्देशन पनि गरे । त्यसमा उनले महत्वपूर्ण चरित्रमा भूमिका पनि निर्वाह गरेका थिए ।

सुपरस्टार अमिताभ बच्चनको परिवार र भारतको राजनीतिका चर्चित घराना गान्धी परिवारबीच नजिकको सम्बन्ध थियो । उनीहरु कहिलेकाहीँ सँगै खेल हेर्न जान्थे ।

एकपटक तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको आग्रहमा इन्दिरा गान्धी, सञ्जय र राजीव र अमिताभसहित दिल्लीमा दारा सिंहको खेल हेर्न गएका थिए। खेलपछि सबैले उनीसँग फोटो खिचाएका थिए ।

उक्त फोटो अझैसम्म अमिताभ बच्चनको घरको भित्तामा राखिएको छ।

८० को दशकमा रामानन्द सागरले टेलिभिजन शृङ्खला रामायण बनाउने निधो गरे । त्यसमा हनुमानको चरित्रका लागि कसैले दारा सिंहको नाम सिफारिस गरेको थियो । खेलमा साहसी र आक्रामक भए पनि अत्यन्त नरम स्वाभाव भएको साथै उनको लोभलाग्दो ज्यानका कारण हनुमानका लागि उनको नाम सुझाव गरिएको थियो ।

रामानन्द सागरले उनलाई टेलिफोन गरेर हनुमानको भूमिका निर्वाह गर्न भने । जवाफमा दारा सिंहले आफू ६० वर्षको भइसकेको उल्लेख गर्दै कोही नवयुवकलाई हनुमान बनाउन आग्रह गरेका थिए ।

तर रामानन्दले उनको कुरा मानेनन् । हनुमान चरित्र निर्वाह गर्न दारा सिंहलाई नै चुने । धेरैजसो संवाद संस्कृत भाषामा भएकाले हिन्दी नै राम्ररी बोल्न नजान्ने दारा सिंहलाई असहज हुने नै भयो । त्यसैले उनको सबै संवाद अर्कै कलाकारलाई डबिङ गर्न लगाइएको थियो।

हनुमानको भूमिका निर्वाह गर्ने क्रममा मेकअप र गेटअपमै उनलाई चार घण्टा लाग्ने गरेको थियो । सन् १९८६ मा रिलिज भएको रामायणका कारण दारा सिंह असाध्यै लोकप्रिय बने। उनी जहाँ जहाँ जान्थे, मानिसहरुले भगवान भन्दै आशीर्वाद लिने गर्थे ।

दैनिक आधा किलो मासु खाने गरेका दारा सिंह हनुमानको चरित्र निर्वाह गर्नका लागि शाकाहारी बनेका थिए । दैनिक बिहान एक घण्टासम्म हनुमानको भूमिका निर्वाह गर्नका लागि उनी घरैमा अभ्यास गर्थे ।

दारा सिंहले पञ्जाबको मोहालीमा फिल्म स्टुडियो पनि बनाएका थिए। त्यहाँबाट थुप्रै फिल्म बनेका छन् । उनले १९९८ मा भारतीय जनता पार्टीमा आबद्ध भएर राज्यसभासम्म पुगे । २००३ देखि २००९ सम्म राज्यसभा सदस्य रहे ।

२०१२ जुलाइ ७ का दिन दारा सिंहलाई हृदयाघात भएको थियो । तत्काल कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गरियो । रक्तसञ्चारमा असर परेकाले उनको मस्तिष्कमा गम्भीर असर परेको डाक्टरहरुले बताएका थिए ।

११ जुलाइमा उनलाई अस्पतालबाट घर पठाइयो । त्यसको भोलिपल्ट १२ जुलाइमा दारा सिंहको निधन भएको थियो ।

(दैनिक भास्करबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *