विश्वकै जेठा डाक्टरका स्वस्थ र दीर्घजीवनबारे पाँच सुझाव

अन्टारियो। अमेरिकामा जन्मिएका एकजना डाक्टरले आफू स्वास्थ्य क्षेत्रमा विश्वमै सबैभन्दा पुरानो अभ्यासकर्ता भएको बताउँदै आफ्नो दीर्घ जीवनबारे रोचक कुराहरु सार्वजनिक गरेका छन्।

उनले आफ्नो अनुभवलाई बुँदागत रुपमा सार्वजनिक गर्दै दीर्घजीवनबारे केही सुझावहरु पनि दिएका छन्।

यहाँ उनको अनुभव उनकै भनाइका आधारमा प्रस्तुत गरिएको छ।

म सन् १९२२ मा जन्मिएको हुँ। त्यसबेला अमेरिकामा औसत आयु पुरुषका लागि ५८ वर्ष र महिलाका लागि ६१ वर्ष थियो।

सय वर्ष पुरानो चिकित्सक र न्यूरोलोजिस्टका रुपमा अभ्यास गर्दै, आएको मलाई बिरामीहरुले कसरी स्वस्थ, खुसी र मानसिक रुपमा चुस्त दुरुस्त रहने भन्नेबारे चासोपूर्वक सोधिरहन्छन्।

यसका लागि राम्रो ‘जिन’ महत्वपूर्ण हुने साथै अलिकति भाग्यको पनि साथ रहनुपर्ने मैले भन्ने गरेको छु।

यसो भए पनि जीवनशैलीमा आधारित केही निश्चित पक्षहरु छन्, जसले स्वस्थ रहन साथै दीर्घजीवी हुन मद्दत गर्छन्।

१) म कामविहीन भएर निवृत्त रुपमा बस्दिन

म ७५ वर्षभन्दा बढी समयदेखि काम गरिररहेको छु। गिनिज वर्ल्ड रेकर्डसद्वारा विश्वको सबैभन्दा पुरानो अभ्यास गर्ने डाक्टरका रुपमा मान्यता दिएको छ। मेरी ६५ वर्षदेखिकी सहयात्री श्रीमती साराले ८९ वर्षको उमेरमा पनि मनोविश्लेषण र मनोचिकित्सा क्षेत्रमा अभ्यास गरिरहेकी छन्।

कोभिड–१८ महामारीको समयमा मैले हप्ताको पाँच वा ६ दिन बिरामीहरुको उपचार गरें। त्यसपछि मैले हप्तामा तीन दिनसम्म मेडिकल क्षेत्रका सहकर्मीहरुलाई सिकाउने काममा लागें।

मेरो अस्पताल हालै बन्द भएको छ, त्यसैले म मेडिकल क्षेत्रबारे समीक्षाको काम गर्दैछु। वास्तवमा म अर्को भूमिका खोज्दैछु।

काम नभएका बेला मलाई मेरा चार छोराछोरी र १० जना नातिनातिनाहरुसँग समय बिताउन मन लाग्छ। उनीहरुसँग खेल्न मन लाग्छ।

यदि तपाई कामका अझै पनि सक्रिय हुन सक्नुहुन्छ र कामबाट आनन्द उठाउन सक्षम हुनुहुन्छ भने सेवानिवृत्त भइहाल्नेतिर नसोच्नुहोस्।

धेरैजसो व्यक्तिहरु जब सेवा निवृत्त हुन्छन्, उनीहरु आफ्नो दैनिक क्रियाकलापमा निस्क्रिय हुन्छन्, यो सक्रिय र स्वस्थ जीवनका लागि सही होइन।

२) सधैँ सक्रिय 

८० को दशकमा म पौडी खेल्ने, दौडने, हाइकिङ र स्किइङ गर्ने गर्थें। यसले मलाई बलियो र स्वस्थ बनाएको छ।

तर अब पहिलेजस्तो खेलहरुमा सक्रिय नहुने अवस्थामा म मेरो ट्रेडमिलमा कम्तीमा पनि तीन माइल जति तेज गतिमा हिँड्ने प्रयास गरिरहेको हुन्छु। यसो गर्दा क्लासिक चलचित्रहरु हेर्ने गरे तपाईंलाई दिक्क हुन दिँदैन।

अध्ययनले पत्ता लगाएको कुरा के हो भने १५ मिनट पैदल हिँडाइले तपाईंको स्वास्थ्यमा धेरै राम्रो काम गर्छ। मृत्युको जोखिम करिब २५ प्रतिशत यसले कम गर्न सक्छ।

३) धूमपान गर्दिन

जब म १९३० मा हाईस्कुलमा थिएँ, मैले मेरो बुबालाई भनें, म धूमपान गर्न चाहन्छु। उहाँले भन्नुभयो, ‘यो कुरा मेरो लागि त ठिकै छ, तर सानै उमेरमा किन कसैले आफ्नो फोक्सोमा ताजा हावाबाहेक हानिकारक चिज हाल्न चाहन्छ?

त्यस भनाइबाट म प्रभावित भएँ।

मलाई मेडिकल बैठकहरुमा उपस्थित भएको याद छ, जहाँ डाक्टरहरुले मुखबाट चुरोट झुकाएर बिरामीहरुलाई धूमपान गर्न भन्थे, किनभने, यसले भोक कम गर्छ र तपाईंको स्नायु शान्त पार्छ भन्थे उनीहरु।

धूमपानले क्यान्सर, स्ट्रोक, धमनी रोग, कोरोनरी धमनी रोग र अन्य समस्याका साथै गम्भीर खालको हृदय रोग निम्त्याउँछ।

४) खानेकुरामा कडाइ गर्दिन

स्वस्थ जीवन बाँच्न खानपान महत्वपूर्ण कुरा हो। स्वस्थ आहारले हामीलाई लामो समयसम्म स्वस्थ रहन र स्वास्थ्यमा प्रतिकूल असर गर्नबाट रोक्छ।

प्रत्येकपटक खानासँग सलाट, ‘बोक चोय’ ब्रोकाउली र ब्रसेल्स स्प्राउट्स जस्ता सागसब्जीहरु खाने गर्नुहोस्। यसबाट आनन्द लिनुहोस्।

खासमा दीर्घायुको वास्तविक रहस्य यो हो कि, यसको कुनै रहस्य छैन। हामी दिनहुँ बाँच्छौं र एकपटक मर्छौं। त्यसैले हामीले आफूसँग भएको समयको अधिकतम सदुपयोग गर्नुपर्छ।

५) आफ्नो ज्ञान खेर जान दिन्नँ

सात दशकभन्दा बढी समयदेखि न्यूरोलोजी अभ्यास गरिसकेपछि मैले लोबोटोमीबाट नवीनतम कम्प्युटराइज्ड इमेजिङ प्रविधिमा औषधिको विकास भएको देखेको छु। मलाई मेरा मेडिकल क्षेत्रका साथीहरु अनि विद्यार्थीहरुलाई सिकाउन एकदम रमाइलो लाग्छ।

वास्तवमा म उनीहरुबाट पनि धेरै कुरा सिकिरहेको हुन्छु। मेरो जीवनको बारेमा आगामी डकुमेन्ट्रीमा पनि विस्तृतमा जानकारी हुनेछ। मेरो लामो करिअरका अथाहरु अर्को पुस्तासँग साझा गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।

(यो लेखमा उल्लेख भएका पात्र ओहायोको क्लिभल्याण्डका न्यूरोलोजिस्ट डा. होवार्ड टकर हुन्। उनी गिनिज वर्ल्ड रेकर्डसबाट सबैभन्दा पुरानो स्वास्थ्य क्षेत्रमा अभ्यास गर्ने व्यक्तिका रुपमा मान्यता दिइएका व्यक्ति हुन्। उनले कोरियाली युद्धका बेला एटलान्टिक फ्लीटको न्यूरोलोजी प्रमुखका रुपमा पनि काम गरेका थिए। उनका बारेमा एउटा सन्देशमूलक डकुमेन्ट्री निर्माण भइरहेको छ।)

–क्यानाडाबाट प्रकाशित ‘नेपाल टच’ अनलाइनबाट साभार ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *