अमेरिकाको न्युयोर्कमा तेन्जिङ शेर्पाको नाममा सडक

काठमाडौं। अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ।

याे सडकलाई नामकरणका लागि गएकाे छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसए नेपाल क्लाइम्बर्स एसाेसिएशनले सिटीसँग पहल गर्दै आएकामा गएकाे अप्रिलमा न्युयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो।

क्लाइम्बर्स एसाेसिएशनका अध्यक्ष पासाङनिमा शेर्पाले भने ‘सिटीको अनुमति पाएपछि हामीले सगरमाथा दिवसकै दिन पारेर याे सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ। हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो।’

कार्यक्रममा सहभागी भएका र लामो समयदेखि न्युयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको बताए। उनले भने, ‘सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद।’

यस अगाडि प्रथम दक्षिण एसियाली मूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएकी थिइन्। त्यसैले हिजाे सोमवार ७०औँ सगरमाथा दिवस पनि मनाइएको थियो।

कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी भएका थिए। नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता थियो। (रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *